नेपाल लाइफको सीईओमा नियुक्त भएका सन्तोष प्रसाईले पाए समितिको स्वीकृति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो । गत माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । करिब डेढ महिनापछि बीमा समितिले कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । सम्बन्धित समाचार नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित

सिद्धार्थ इन्स्योरेन्सले घोषणा गर्यो १५ प्रतिशत बढी लाभांश

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको हो । चैत ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत र कर प्रयोजनको लागि ३.७८९४ प्रतिशत गरी १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश आर्थिक वर्ष २०७४/७५ को तुलनामा बढी हो । कम्पनीले उक्त आवको नाफाबाट सेयरधनीलाई १५.४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यससँगै कम्पनीको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।