अजोड इन्स्योरेन्सको ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न बोर्डले गठन गर्यो उप-समिति
काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर काराेबारमा भएकाे ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न नेपाल धितोपत्र बोर्डले उप-समिति गठन गरेको छ । कम्पनीको सेयर मूल्यमा इन्साइडर ट्रेडिङ गरी मूल्य बढाएको भन्दै बोर्डले उपसमिति गठन गरी छानबिन कार्य अगाडि बडाएको बोर्ड स्रोतले बताएको हो । बोर्डले सञ्चालक अम्बिका गिरीको संयोजकत्वमा ४ सदस्यकाे छानबिन समिति गठन गरेको हो । उनीहरूलाई यथासिघ्र छानबिन गरि प्रतिवेदन बुझाउन बाेर्डले निर्देशन दिएकाे छ । र, यदि भित्री काराेबार भएकाे पाइएमा बाेर्डले नियमअनुसार कारवाही गर्ने पनि बताएकाे छ । गत सोमबार अर्थात चैत १६ गते कम्पनीको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेको थियो र ठूलो परिणाममा सेयर कारोबार भएको थियो । र, त्यसको भोलिपल्ट अर्थात चैत १७ गते मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तय गरि सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव प्रकाशित गरेको थियो । र, त्याे दिन पनि कम्पनीकाे सेयर मूल्यमा सर्किट लागेकाे थियाे । यससँगै अघिल्लो दिन बिना कुनै सूचना १० प्रतिशतले मूल्य बढ्नु र त्यसको लगत्तै हकप्रद जारी गर्ने भन्ने सूचनाले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको पुष्टि हुने जानकारहरू बताउँछन् । त्यस्तै, कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै सेयर मूल्य तथा कारोबार वृद्धि भएको सम्बन्धमा बोर्डले ध्यानाकर्षण गराएको हो ।
उधारो बीमाको बिगबिगी, समिति भन्छः कुनै प्रडक्ट त ३० प्रतिशतसम्म उधारो रहेछ
काठमाडौं । पछिल्लो समय उधारो बीमाको बिगबिगी बढेको पाइएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले गरेको अध्ययनले उधारो बीमा डरलाग्दो अबस्थामा रहेको पाइएको हो । बीमा गराएको भनेर बीमा पोलिसी लिने तर, त्यसको लागि तिर्नुपर्ने शुल्क नतिर्नु नै उधारो बीमा हो । शुल्क नतिरी बीमा गराउन नपाइने भएपनि अधिकांश बीमा कम्पनीहरुले पछि शुल्क उठाउने गरी (उधारो) बीमा गराइरहेको पाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘बीमा शुल्क नलिई बीमा गराउन पाइदैन तर, पछि शुल्क लिने गरी उधारो बीमा गराएको पाइएको छ, यस्तो कार्य गैरकानुनी हो, आवश्यक छानविन गरेर कारबाही प्रक्रिया अगाडि बढाइन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । समितिले यसरी उधारो बीमा गराउने बीमा कम्पनीहरुको विवरण अध्ययन गरिरहेको छ । अहिलेसम्मको अध्ययन अनुसार अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको पाइएको समितिले जानकारी दिएको छ । समितिका अनुसार जीवन बीमा कम्पनीहरुले सिंगल प्रिमिय बीमा (बीमा शुल्क एकैपटक लिएर गरिने बीमा) मा उधारो बीमाको मात्रा बढी छ । जीवन बीमाका अन्य प्रडक्टमा सामान्य मात्रामा मात्रै उधारो बीमा गराइएको भेटिएको समितिले जानकारी दिएको छ । निर्जीवन बीमा कम्पनीहरुले भने विकास आयोजनाको ठेक्कामा गरिने इन्जिनियरिङ लगायतका बीमामा उधारो बीमाको मात्रा बढी छ । कतिपय कम्पनीहरुमा सरकारले अनिवार्य गरेको सवारी साधनको बीमामा पनि उधारो गरिएको भेटिएको समितिले जानकारी दिएको छ । यसरी उधारो बीमा गराएकोमध्ये केही प्रडक्टहरुमा ३० प्रतिशतसम्म उधारो हुने गरेको समितिले जानकारी दियो । के हुन्छ उधारो बीमा गर्दा ? बीमा समितिले उधारो बीमालाई गैरकानुनी कार्य भनेको छ । बीमा शुल्क नलिई बीमा गराउँदा कम्पनीले बीमा शुल्क नपाउने तर हानी नोक्सानी भएमा दायित्व भुक्तानी गर्नुपर्ने भएकोले कम्पनीलाई आर्थिक हानी नोक्सानी हुन्छ । यस्तै, बीमा गराए वापत बीमा अभिकर्ताले कमिसन पनि पाउने भएकोले कम्पनीलाई थप आर्थिक नोक्सानी हुन्छ । ‘उधारो बीमा गराउँदा कम्पनीले बीमा शुल्क नलिई दायित्व बोक्नुपर्ने हुन्छ, यस्तै अभिकर्तालाई कमिसन दिनु पर्ने अवस्थामा थप आर्थिक दायित्व पनि रहन्छ, बीमा शुल्क नतिरी बीमा गराउनै पाइदैन, उधारो बीमा गर्ने गराउनेहरुलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याउछौं,’ समितिका कार्यकारी निर्देशक पौडेलले भने ।
सिटिजन लाइफद्धारा घातक रोगका बीमितलाई ३० लाख हस्तान्तरण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेललाई उक्त रकम प्रदान गरेकाे हाे । कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाैंको गंगालाल अस्पतालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरेकाे क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए । कम्पनीका क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च दिने गरी नेपालमै पहिलाेपटक कम्पनीले काम गरिरहेको बताए ।