सेबोन कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, ढुंगाना भन्छन्ः मिलेर बजारको विकास गर्नुपर्छ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) कर्मचारी युनियनको नयाँ कार्यसमिति- चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गरेका थिए । उक्त अधिवेशन असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा सम्पन्न भएको थियो । । अधिवेशनको उद्घघाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त उद्घघाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । उद्घघाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।
यूनियन लाइफले आईपीओबाट उठेको ३५ प्रतिशत रकम पूँजी बजारमा लगानी गर्ने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले आगामी असार २४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरेको छ । त्यस्तै, बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने कम्पनीले जनाएको छ । आईपीओ जारी गर्नुको उद्देश्य कम्पनीले सर्वसाधारणमा ६ लाख ४५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । कम्पनीको सेयर पुँजी संरचना मिलान गर्न इन्स्योरेन्सले सो मात्राको आईपीओ जारी गरेको हो । त्यस्तै, कम्पनीले आफ्नो सेवा विस्तार गरि बीमा व्यवसायको जोखिम धारण बढाउनको लागि आवश्यक पर्ने पूँजीको ब्यवस्था गर्न पनि सेयर जारी गरेको हो । साथै, इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पुँजी संकलन गर्न उक्त सेयर जारी गरिएको कमपनीले जनाएको छ । आईपीओबाट उठेको रकम कहाँ कहाँ लगानी गर्छ ? इन्स्योरेन्सले जारी गर्न लागेको आईपीओबाट ६४ करोड ५० लाख रुपैयाँ उठ्ने छ । जसमध्ये इन्स्योरेन्सले सबैभन्दा बढी एफडी (मुद्दती निक्षेप) मा लगानी गर्ने छ । कम्पनीले विभिन्न वित्तीय संस्थाको एफडीमा कूल ४१ करोड ९२ लाख ५० हजार रुपैयाँ अर्थात ६५ प्रतिशत लगानी गर्ने छ । र, बाँकी ३५ प्रतिशत रकम पुँजी बजारमा लगानी गर्ने छ । कम्पनीले नेपाल सरकारको ऋणपत्र तथा विकास ऋणपत्रमा १६ करोड १२ लाख ५० हजार रुपैयाँ अर्थात २५ प्रतिशत र पब्लिक कम्पनीको सेयरमा ६ करोड ४५ लाख रुपैयाँ अर्थात १० प्रतिशत गरी ३५ प्रतिशत रकम पुँजी बजार लगानी गर्ने भएको हो । साथै, बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसर प्रदान गरेकोले त्यस्ता क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकमको उपभोगको लागि पहल गरिने इन्स्योरेन्सले जनाएको छ । आईपीओपछि २ सञ्चालक नियुक्त गरिने, कसले कति पाउँछन् भत्ता ? इन्स्योरेन्सको सञ्चालक समितिमा ५ जना रहेका छन् । कम्पनी ऐन अनुसार कम्पनीको सञ्चालक समितिमा कुल ७ जना रहनुपर्ने व्यवस्था छ । तर कम्पनीमा भने सर्वसाधारण समूहका दुई जना सञ्चालकको पद रिक्त रहेको छ र आईपीओ निष्काशन पश्चात नियुक्त गरिने इन्स्योरेन्सले जानकारी गराएको छ । हाल इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षता शुलभ अग्रवालले गरिरहेका छन् । त्यस्तै, सञ्चालकमा सिमा गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । अध्यक्षसहित यी ३ जना सञ्चालकले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै, संस्थाको स्वतन्त्र विज्ञ संचालकमा भने देविप्रसाद शर्मा रहेका छन् । सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षले प्रतिबैठक ८ हजार रुपैयाँ र सञ्चालकले ७ हजार रुपैयाँ भक्ता पाउने छन् । यो बाहेक अन्य कुनै सुविधा नदिइएको इन्स्योरेन्सले जानकारी गराएको छ । उच्च व्यवस्थापकीय तहमा कति जना ? इन्स्योरेन्सको उच्च व्यवस्थापकीय तहमा तीन जना रहेका छन् । जसमध्ये प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार लाल कर्ण, उप प्रमुख कार्यकारी अधिकृतमा कपिल कुमार दाहाल र बरिष्ठ नायब महाप्रबन्धकमा कोषराज सुवेदी रहेका छन् । कम्पनीका सीईओ लाल कर्णले आर्थिक वर्ष २०७६/७७ अर्थात एक वर्षमा पारिश्रमिकको रुपमा ९० लाख ८४ हजार ८०१ रुपैयाँ बुझेका छन् । त्यस्तै, दाहालले ५९ लाख ४४ हजार ५२१ रुपैयाँ र सुवेदीले ५५ लाख ३७ हजार ७ रुपैयाँ पारिश्रमिक बुझेका छन् । हाल कम्पनीमा कूल ४०८ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये ३४० जना स्थायी र ४२ जना अस्थायी रुपमा कार्यरत छन् । बाँकी २६ जना भने परिक्षणकालमा रहेका कम्पनीले जानकारी गराएको छ । यस्तो छ वित्तीय अवस्था २०७४ मंसिरदेखि आफ्नो व्यवसायिक कारोवार शुरु गरी असार मसान्त अर्थात् करिब पाँच वर्षको छोटो अवधिमा नै बीमितहरुको चाहना र आवश्यकता अनुसारका स्तरीय ग्राहकोन्मुख सेवा तथा सुविधाहरु प्रदान गरेर उपलव्ध श्रोत र साधनको उपयुक्त परिचालन गरी तुलनात्मक रुपमा उत्साहजनक उपलब्धि हासिल गरेको छ । स्थापनाकालदेखि २०७७ चैत मसान्तको छोटो अवधिमा नै इन्स्योरेन्सको कुल बीमाशुल्क १३ करोड ८१ लाख रुपैयाँ, सेयरधनीहरुको कोषमा ७३ करोड रुपैयाँ तथा बीमितहरुको अधीनमा रहने जीवन बीमा कोषमा ६६९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । २०७७ पुस मसान्तसम्म कम्पनीको बीमाशुल्क ३ अर्ब २१ करोड रहेको छ । जुन बीमा व्यवसायमध्ये ५ प्रतिशत बीमा शुल्कको हिस्सा कायम राख्न इन्स्योरेन्स सफल भएको छ । सो अवधिसम्म सम्पूर्ण बीमा व्यवसायको कुल बीमाशुल्क ६२ अर्ब ४३ करोड रहेको छ । हाल इन्स्योरेन्सको अधिकृत पूँजी २ अर्ब १५ करोड, जारी पूँजी २ अर्ब १५ करोड र चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । प्रतिसेयर आम्दानी र नेटवर्थ कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा अपरिष्कृत विवरण अनुसार इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३३.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.४६ रुपैयाँ रहेको छ । चालु आव २०७७/७८ मा प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ । त्यस्तै, आगामी आव २०७८/७९ मा उक्त रकम क्रमशः ६.२३ रुपैयाँ र १४३ रुपैयाँ पुग्ने संस्थाले प्रक्षेपण गरेको छ । सञ्चित नाफा गत आर्थिक वर्षमा ७२ करोड ९३ लाख रुपैयाँ सञ्चित नाफा कमाएको इन्स्योरेन्सले चालु आवमा ७८ करोड ५१ लाख रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८/७९ मा ९१ करोड ९१ लाख रुपैयाँ र आव २०७९/८०मा १ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले अनुमान गरेको छ । कति कित्ताको लागि आवेदन दिन सकिन्छ ? इच्छुकले असार २४ गतेदेखि असार २८ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा आवेदन नपरेमा ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ । उनीहरुले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मको सेयरको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । रेटिङ्ग आईपीओ निष्काशन गर्नको लागि इन्स्योरेन्सले ईक्रा नेपालबाट ‘(इक्राएनपी-आईआर) बीबीबी’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायितव बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ । उक्त रेटिङ्गको अवधि एक वर्ष रहने छ ।
वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम, निषेधाज्ञामा एक अर्बको प्रिमियम उठाउन सफल
काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २१ गते) तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् । कोरना भाइरस (कोभिड-१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हालसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ अर्ब २० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । हालसम्म कम्पनीको चुक्ता पूँजी १ (एक) अर्ब रुपैयाँ र लगानी १४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख रुपैयाँ (कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउँदै लैजानका लागि वेव बेस सिष्टम र कम्प्युटर बिलिङ्गको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एव्म पारदर्शि बनाउने उदेश्यले फाष्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरि २ (दुई) लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले इन्टिग्रेटेड एमआईएस सिष्टम, इन्भेष्टमेन्ट, इन्भेष्टमेन्ट सफ्टवेयर, ग्रुप एसएमएस सिष्टम, अजोड च्याट बोर्डको शुरुवात गरि सकेको छ । त्यसैगरी डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आईएमई पे, प्रभु पे, एनआईसी एशिया फोन पे, सेल पे, खल्ती, इसेवा, पे वेल आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ । कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रकृयामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहँुच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफ्नो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।