मनकामना स्मार्टको आईपीओमा झुम्मिए लगानीकर्ता, एकैदिन २१.८८ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा लगानीकर्ताको आकर्षक बढेको छ । आज (असार १७ गते) देखि सेयर निष्काशन तथा बिक्री खुला भएको उक्त सेयरमा पहिलो दिनमै २१.८८ गुणा बढीको आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन ५ बजेसम्ममा ५ लाख ८८ हजार ३७२ जना आवेदकले संस्थाको ७९ लाख ५३ हजार ८७० कित्ता सेयर माग गरेका छन् । जबकी संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार ३१ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो । सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ ।

शंखरापुर नगरपालिकाका कृषकको सम्पूर्ण बीमा आइएमई जनरल इन्स्योरेन्सले गरिदिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्ने छन् । त्यस्तै, नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौं जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ । बीमा पश्चात कुनै कृषकको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन् । साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने उनको प्रतिवद्धता रहेको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४०० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४०० रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १५५४ रुपैयाँमा भएको थियो ।