प्रुडेन्सियल इन्स्योरेन्समा श्रवणकुमार रावललाई कार्यवाहक सीईओको जिम्मा
तस्विर: रावलको सामाजिक सञ्जालबाट काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाउने भएका छन् । कार्त्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले कार्त्तिक ७ गतेदेखि लागू हुने गरी रावललाई कार्यवाहक सीईओको जिम्मा दिएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले कार्त्तिक ३ गते राजिनामा दिएका थिए । उनको राजिनामालाई स्वीकृत गर्दै इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओमा रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त
काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल) को तर्फबाट इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मोलरी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । यससँगै नवनियुक्त सञ्चालक मोलरीले असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि उक्त पदमा भी के कुकरेजा रहेका थिए । उनको पदावधि सकिएसँगै भारतीय जीवन बीमा निगमले मोलरीलाई मनोनित गरेको हो ।