नेपाल लाइफले ल्यायो जोखिमयुक्त पेशा लक्षित योजना, बीमालेख धितोमा ९०% सम्म ऋण पाइने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले विकास निर्माणका काम लगायत अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो जीवन बीमा योजना ल्याएको हो ।  बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले यो योजना ल्याएको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । यो योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सकिनेछ । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने कम्पनीले जनाएको छ । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने छ । वार्षिक बीमाशुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बीमाशुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमाशुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बीमाशुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट नहुने इन्स्योरेन्सले जानकारी गराएको छ ।। बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम प्लस आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ । बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम प्लस आर्जित बोनश एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ । बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम प्लस आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ । यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

आईएमई जनरल इन्स्योरन्सले दुई जिल्लामा दियो क्षति मुल्याङ्कनकर्ता तालिम

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दुई जिल्लामा कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ता तालिम दिएको छ । कृषि तथा पशुपन्क्षी बीमाको लागि इन्स्योरेन्सलाई तोकिएका जिल्लाहरुमध्ये कम्पनीले धनुषा र महोत्तरी जिल्लाका सहभागिलाई एकै स्थानमा उक्त तालिम दिएको हो । उक्त तालिम मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा टलमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो । उक्त तालिममा १० जना क्षति मुल्याङ्कनकर्ताहरुको सहभागिता थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य रुपमा सुधार हुने र कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको अपेक्षा छ । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि विभिन्न कम्पनीलाई विभिन्न जिल्लाहरु तोकेको छ ।

पुनर्बीमा ब्रोकरको लाइसेन्स दिँदै बीमा समिति, चुक्ता पुँजी १० करोड हुनुपर्ने

काठमाडौं । बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिने भएको छ । नेपालमा ब्रोकर नहुँदा कम्पनीहरुले प्रत्येक्ष रुपमा पुनर्बीमा गराउदै आएका थिए । बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच व्यवसाय गर्नको लागि ब्रोकर आवश्यक पर्ने भएकोले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिने तयारी थालेको हो । ब्रोकर आवश्यक हुने भएकोले चाँढै पुनर्बीमा ब्रोकरको लाइसेन्स दिन लागिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । ‘पुनर्बीमा ब्रोकरको आवश्यकता देखिएको छ, अहिलेसम्म नेपालमा यस्तो ब्रोकर छैनन्, केही कम्पनीले ब्रोकरको लाइसेन्स माग्दै दर्ता प्रक्रियामा पनि आएका छन्, प्रक्रिया पूरा गरेर आएकालाई लाइसेन्स दिन सकिन्छ,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । बीमा कम्पनीहरुले गरेको बीमा रकमको निश्चित अंशको जोखिम आफैले राख्ने गर्छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि ५ प्रतिशत र जीवन बीमा कम्पनीहरुले ०.३ प्रतिशत जोखिम आफैले लिन पाउने नीतिगत व्यवस्था गरेको छ । सोभन्दा बढीको जोखिम बीमा कम्पनीहरुले पुनर्बीमा गराउने गर्छन् । कम्पनीहरुले पुनर्बीमा गराउँनको लागि पहिला ब्रोकरमा जानुपर्छ । अनि ब्रोकरले पुनर्बीमा खोजेर कम्पनीहरुले गरेको बीमाको पुनर्बीमा गराउने व्यवस्था गरेका हुन्छन् । तर, नेपालमा अहिलेसम्म पुनर्बीमा ब्रोकर नभएकोले कम्पनीहरु आफैले पुनर्बीमा गराउँदै आएका छन् । बीमा समितिले पुनर्बीमा ब्रोकर स्थापना गर्नको लागि आवश्यक गृहकार्य गरिसकेको छ । समितिले यही वर्ष मात्रै पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिका बनाएर सार्वजनिक गरिसकेको छ । सो निर्देशिका अनुसार पुनर्बीमा ब्रोकर स्थापना गर्नको लागि १० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्छ ।