जीवन बीमा कम्पनीलाई पुँजी थप्न समितिको ४ विकल्प, भन्यो- हकप्रदलाई प्राथमिकतामा नराख्नुस्
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुँजी वृद्धिको लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गरेका छन् । जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले सो आग्रह गरेका हुन् । उनले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताए । ‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो, सक्नेले पुँजी बढाउनुपर्यो, नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्यो, पुँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ,’ उनले भने । लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उनको भनाई छ । ‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो, अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो, सूचना प्रविधिमैत्री हुनुपर्यो, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्यो, दाबी भुक्तानी समयमै हुनुपर्यो, लगानीको प्रतिफल पनि बढ्नु पर्यो,’ उनले भने । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि विभिन्न ४ वटा विकल्प रहेको बताएका छन् । उनका अनुसार कम्पनीहरुले थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प मार्फत पुँजी वृद्धि गर्न सक्ने छन् ।
सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गर्यो ९ करोड दावी बीमा रकम
काठमाडौं । गत वर्षमो मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षातका कारण कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक र मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना भत्काएको थियो । उक्त निर्माणको ठेक्का पाएको कुमार-सी एफ इसी जेभीले दावी बीमाबापत्को रकम आठ करोड ९७ लाख ९८ हजार रुपैयाँ बीमा रकम प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कम्पनीका प्रतिनिधी शुशीलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । साथै, चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म यस कम्पनीले ७ हजार ८२८ वटा दावी फर्छ्यौट गरी १अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ तथा अग्रिम दाबीबापत ८ करोड भुक्तानी गरेको छ भने फर्छ्यौट गर्न बाँकी दावीको संख्या ३ हजार ८५७ (कोरोना दावी वाहेक) रहेको कम्पनीले जनाएको छ ।
सूर्या लाइफका बीमितलाई ३५ प्रतिशतसम्म व्याज छुट
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिने भएको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत व्याज छुट पाउने भएका हुन् । यो छुट २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ । साथै, सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले जनाएको छ ।