कोरोना बीमाको भुक्तानी : कुन कम्पनीले कति दिए ? (सूचीसहित)
काठमाडौं । हालसम्म साढे ५१ हजारभन्दा बढी बीमितले कोरोना बीमाको दावी भुक्तानी पाएका छन् । दावी दिएका बीमितमध्ये ५१ हजार ६ सय ६९ जनाले करिब ५ अर्ब रुपैयाँ बराबरको भुक्तानी पाएका बीमा समिति श्रोतले बताएको छ । समिति उच्च श्रोतका अनुसार उनीहरुले २० वटा निर्जीवन बीमा कम्पनी मार्फत् कूल ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २ सय ३५ रुपैयाँ बराबरको दावी भुक्तानी पाएका हुन् । जसमध्ये सबैभन्दा बढी भुक्तानी राष्ट्रिय बीमा कम्पनी मार्फत् भएको छ । कम्पनीले हालसम्म ९७ करोड ९४ लाख रुपैयाँ बराबरको कोरोना बीमाको दावी भुक्तानी गरिसकेको छ । कम्पनीले दावी परेका बीमितमध्ये ९ हजार ७९४ जनालाई सो मात्राको दावी भुक्तानी गरेको हो । समिति श्रोतका अनुसार कोरोना बीमाको सबैभन्दा बढी दावी पनि राष्ट्रिय बीमा कम्पनीमा नै परेको छ । सर्वाधिक भुक्तानी गर्नेको दोश्रोमा शिखर इन्स्योरेन्स छ । इन्स्योरेन्सले हालसम्म ७ हजार ३५४ जना बीमितलाई कूल ७१ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ । अन्य बाँकी १८ वटा कम्पनीले भने ४० करोडभन्दा कम भुक्तानी गरेका छन् । राष्ट्रिय बीमा र शिखर इन्स्योरेन्सको तुलनामा अन्य कम्पनीमा दावी पनि कम परेको श्रोतले जानकारी गराएको छ । त्यस्तै, सिद्धार्थ, हिमालयन जनरल र सगरमाथा इन्स्योरेन्सले ३० करोडदेखि ४० करोड रुपैयाँसम्मको कोभिड भुक्तानी गरेका छन् भने प्रिमियर र लुम्बिनी जनरलले क्रमशः २४ करोड र २१ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन् । १० करोडभन्दा बढी तर २० करोडभन्दा कम भुक्तानी गर्नेमा अधिकांश बीमा कम्पनी रहेका छन् । जसमा एनएलजी, आईएमई जनरल, नेको, जनरल, यूनाईटेड, दि ओरियण्टल, अजोड, नेपाल र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यिनीहरु प्रत्येकले आफ्नो कम्पनीमा दावी दिएका बीमितहरुमध्ये एक हजारभन्दा बढी बीमितलाई भुक्तानी गरिसकेका हुन् । निर्जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले १० करोडभन्दा कमको दावी भुक्तानी गरेका छन् । जसमा प्रभु, प्रुडेन्सियल, सानिमा जनरल र नेशनल इन्स्योरेन्स रहेका छन् । तुलनात्मक रुपमा यी कम्पनीमा कम दावी परेको अनुसार यिनीहरुले कम भुक्तानी दिएका हुन् । हालसम्म प्रभुले ९४२, प्रडेन्सियलले ८४७, सानिमा जनरलले ८४८ र नेशनल इन्स्योरेन्सले ५३८ जना बीमितलाई दावी भुक्तानी गरेको छ । सबैभन्दा कम दावी भुक्तानी गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले हालसम्म ५ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरको भुक्तानी गरिसकेको श्रोतले जनाएको छ । कुन कम्पनीले कति दिए ? (सूचीसहित) यद्पि दावी परेको अनुसार सबै भुक्तानी भइसकेको छैन । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यसमध्ये कम्पनीहरुले ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन् । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ । पछिल्लो समय सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि तयारी थालेको छ । यसअघि पटक-पटक कोरोना बीमाको दाबी भुक्तानी दिने बताएको सरकारले अब भने समिति नै बनाएर काम अगाडि बढाएको हो ।
बीमा कम्पनीको पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । विहीबार अर्थसमितिबाट पारित बीमा विधेयकको दफा ३८ मा उक्त व्यवस्था गरिएको छ । प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले दुई अवस्थामा बीमकको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने विधेयकका लेखिएको छ । बीमा कम्पनी समस्यग्रस्त परेको देखिएमा र बीमाको पोर्टफोलिया मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा चुक्ता पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्नेछ । संसदबाट पारित हुने क्रममा रहेको विधेयकका बीमकको चुक्ता पुँजी तोकिएको छैन । ‘बीमकको न्यूनतम चुक्ता पुँजी प्राधिकरणले समय समयमा निर्धारित गरे बमोजिम हुनेछ’ भनिएको छ । तोकिएअनुसार चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकको लाइसेन्स निलम्बन गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ । विहीबार अर्थसमितिले विधेयकलाई अन्तिम रुप दिएकोले यहि बजेट अधिबेशनबाट पारित हुने सम्भावना रहेको छ ।
सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट सम्पन्न
बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले करिब २०० भन्दा बढी आभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको सहभगिता रहेको थियो । प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए । कम्पनीको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई सुर्य लाइफले सम्मान गरेको थियो ।