ज्योति लाईफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७५ रुपैयाँसम्म दिने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई बीमा समितिले २०७९ साउन ६ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले उक्त बीमालेखमा ९ वर्षसम्मको अवधि तथा २५ र सोभन्दा माथिकालाई बोनसदर तोकिएको छैन । त्यसैगरी, ज्योति ईजी पे जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

फर्म दर्ता नगरी व्यवसाय गर्दा साना किसान पशु बीमाबाट वञ्चित

काठमाडौं । पशु बीमा कार्यक्रमबाट साना किसान लाभान्वित हुनसकेका छैनन् । देशभर साना किसानको सङ्ख्या झन्डै ८० लाख रहेको अनुमान छ । बीमा गर्न मध्यम तथा ठूला किसानको भने बढ्दो आर्कषण छ । उनीहरुले फर्म दर्ता नगरि व्यवसाय सुरु गरेका छन् । वित्तीय संस्थाले दर्ता नगरेका ऋणीलाई धितो लिएर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरेको छैन । गत आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या ६० हजार ६१८ छ । उनीहरुले एक खर्ब ३९६ अर्ब ८४ करोड सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन् । फर्म दर्ता गरेर पशुपालन गर्ने साना किसानको सङ्ख्या न्यून छ । उनीहरुलाई फर्म दर्ता गर्ने, दर्तापछि धितो राखेर सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी कम छ । वित्तीय संस्थाले स्वीकार गर्ने, आवश्यक धितो नहुनाले साना किसान सरकारी तथा बीमा सुविधा प्राप्त गर्नबाट वञ्चित छन् । नेपालमा पशु बीमा कार्यक्रम आर्थिक वर्ष २०७१/७२ बाट सुरु भएको हो । सरकारी सेवा सुविधा प्राप्त गर्नबाट साना किसान वञ्चित भएका कारण पशुजन्य उत्पादनको आयात चुलिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माछा, मासु र दूध तथा दुग्धजन्य पदार्थको आयात वार्षिक दुई खर्बभन्दा बढी छ । पहिलो वर्ष गाईभैँसी, चौरी, भेँडा, च्याङग्रा, बाख्रा, सुङ्गुर, बङ्गुर, गधा तथा विभिन्न पक्षीपालन गर्ने किसानले ६१ करोड एक लाखको बीमा गरेका थिए । ती किसानलाई सरकारले एक करोड ६५ लाख अनुदान उपलब्ध गराएको थियो । त्यसको आठ वर्षपछि आर्थिक वर्ष २०७७/७८ सम्म ५९ प्रतिशतले बीमाङ्क बढेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । बीमा समितिले बीमा गर्नेको सङ्ख्या उल्लेखनीय वृद्धि भएको पुष्टि गरे पनि कृषि तथा पशुपक्षीबाट उत्पादन हुने विभिन्न बस्तुको आयात घटेको छैन । आयात नघट्नुको मुख्य कारण साना किसानलाई उत्पादनमा समेट्न नसकेकाे विज्ञहरुको भनाइ छ । भक्तपुर सूर्यविनायक नगरपालिका–१० का बद्री दुलाल हुन् वा सुदन खड्कालाई पशु बीमाबारे राम्रो जानकारी छैन । उनीहरुले पशुपालनबाट घरायसी खाँचो टार्दै आउनुभएको छ । उनीहरुका गोठमा तीन/चार वटा गाईभैँसी छन् । एक दुधालु गाईभैंसीको मूल्य करिब रु एक लाखदेखि एक लाख पचास हजारसम्म पर्छ । कारणबस गाईभैँसी मरेमा उनीहरुलाई बज्रपात पर्छ । तर उनी बीमाका बारेमा बुझाउने र सहयोग गर्ने मान्छे गोठसम्म आइ नपुगेको बताउँछन् । गाईभैँसीलाई घाँसपात, सफा सुग्घर, औषधि उपचारलगायत कामबाट फुर्सद नहुने भएकाले बीमा गर्ने निकाय गोठसम्म आउनुपर्ने उनी बताउँछन् । ठूला पशुपालक फर्मको गोठसम्म बीमा गर्ने निकाय पुगेको देखिन्छ तर साना किसानसम्म बीमासम्बन्धी निकाय नपुगेको गुनासो गर्नुहुन्छ खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारी । उनी भन्छन्, ‘पहिलो पटक स्थानीय वडा सरकारले साना किसानको पशु बीमा गरिदिनुपर्छ ।’ पशुधन बीमाकर्ताले पहिलो वर्ष बीमा रकममा पाँच, दोस्रो वर्ष सात र तेस्रो वर्षदेखि कूल बीमा शुल्कको १० प्रतिशतले हुन आउने रकम भुक्तानी गर्नुपर्नेछ । सदस्य संस्थामार्फत बीमा भएमा कूल बीमा शुल्कमा १५ प्रतिशत छुट दिइने व्यवस्था पशुबीमा नीतिमा उल्लेख छ । नीतिले बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत प्रतिवर्षका दरले शुल्क लाग्ने छ । बीमित पशुधनको सम्बन्धमा सत्यतथ्य कुरा लुकाइछिपाइ झुट्टा विवरण दिएको पाइएमा, बीमित पशुधनलाई बीमा अवधि समाप्त नहुँदै बिक्री गरेमा स्वतः रद्द हुने नीतिमा उल्लेख छ । पशुधनकर्ताले बीमित पशु हराएमा वा चोरी भएमा निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशुको बीमा शुल्क नबुझाएको अवस्थामा र नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएमा सात दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क नबुझाएमा बीमाको दाबी रकम भुक्तान गर्न बाध्य नहुने नीतिमा उल्लेख छ । रासस

एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा

काठमाडौं । निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र ओएसआर फिन्टेकका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रडक्टहरुको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ । यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबीमालाई समेत लक्ष्य बनाएको छ । समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ । ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बिमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए ।