दुई इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकैदिन दुई कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले बिहीबार मात्रै प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को रोक्का रहेको सेयर कारोबार फुकुवा गरिदिएको हो । दुई वटै कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै सर्वसाधारण लगानीकर्ताले अब आइतबार (मंसिर १८ गते) देखि यी कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् । दुई वटै कम्पनी मर्जर प्रक्रियामा गएसँगै नेप्सले यी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । प्रिमियर इन्स्योरेन्स सिद्धार्थ इन्स्योरेन्ससँग र प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँग मर्ज हुने भएका छन् ।

हिमालयन एभरेष्टले १ हजार ७ सयलाई कोरोना बीमा दाबी भुक्तानी गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा भुक्तानी गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ । साविक एभरेष्ट इन्स्योरेन्सबाट ३ हजार १५६ र हिमालयन जनरल इन्स्योरेन्सबाट ३ हजार २९६ कोरोना कोरोना बीमा दाबी गरेर भुक्तानी पाउन बाँकी रहेका थिए । हाललाई भुक्तानी पाउन बाँकी एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरु मध्ये एभरेष्ट इन्स्योरेन्सबाट ५५८ र हिमालयन जनरल इन्स्योरेन्सबाट १ हजार १४३ गरी कूल १ हजार ७०१ दाबीकर्तालाई मंसिर १३ देखि भुक्तानी गर्न सुरु गरिएको जनाएको छ । राष्ट्र सेवक कर्मचारी र संघ संस्थाले बीमा शुल्क तिरेर कोरोना बीमा गर्नेहरुलाई दोश्रो प्राथमिकतामा राखेको एभरेष्ट इन्स्योरेन्सले बताएको छ । बाँकी दाबीको भुक्तानीका लागि पुनः जानकारी गराईने कम्पनीले जनाएको छ ।

सगरमाथा इन्स्योरेन्सले चार दिने बीमा अभिकर्ता तालिम दिने, कति लाग्छ शुल्क ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चार दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि २४ गतेसम्म बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । उक्त तालिम कम्पनीको जनकपुर शाखा कार्यालयमा दैनिक ७ घण्टा अर्थात बिहान १० बजेदेखि ५ बजेसम्म हुने छ । साथै, जुमबाट पनि तालिम सञ्चालन गरिने इन्स्योरेन्सले जनाएको छ । यससँगै बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिहरु उक्त तालिममा सहभागि हुन पाउने छन् । जसको लागि उनीहरुले कम्पनीको कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ । बीमा अभिकर्ताको बन्नको चाहने इच्छुक व्यक्तिले न्यूनतम एसएलसी उत्तीर्ण वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने छ । कम्पनीका अनुसार नीजले निवेदन दिँदा विभिन्न कागजातहरु पेश गर्नुपर्ने छ । उनीहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, पासपोर्ट साईजको ३ प्रति फोटो लगायतका कागजात कम्पनीमा पेश गर्नुपर्ने छ । त्यस्तै, उक्त तालिमको शुल्क एक हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले निवेदन पत्र साथ विभिन्न कागजातहरु पेश गर्नुपर्ने छ । सहभागि संचालक पदमा बहाल रहेको कुन मिति देखि कुन मितिसम्म बहालमा रहेको) प्रमाण खुल्ने आधिकारीक पत्र, बीमा अभिकर्ताको तालिममा सहभागि हुने सम्वन्धि संचालक समितिको निर्णयको माईनुट उतार, कम्पनीको प्रमाण पत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाण पत्र, भ्याट प्यान दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने छ । त्यसैगरी, निवेदन दिएको अघिल्लो आर्थिक वर्ष सम्मको कर चुक्ताको प्रमाण पत्र र लेखा परिक्षण भएको वित्तीय विवरण, सहभागि संचालकको न्यूनतम एस. एल. सी. उत्तिर्ण गरेको शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि बुझाउनु पर्ने कम्पनीले जनाएको छ । संस्थागत बीमा अभिकर्ताको तालिममा सहभागि हुन पनि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । कम्पनीका अनुसार उक्त तालिममा ३० जनालाई मात्रै समावेस गरिने छ । सो भन्दा बढीको निवेदन परेमा पहिलो दर्ता हुन आएको निवेदनलाई नै प्राथमिकतामा राखिने समते कम्पनीले जानकारी गराएको छ । तालिममा सहभागी हुन इच्छुकले कम्पनीले उपलब्ध गराएको नम्बर (मुकेश दासः ९८४४३१४०००) मा सम्पर्क गर्न सक्नेछन् ।