नेशनल लाईफकाे २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमा सम्बन्धी जानकारी दिएको थियो । कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कम्पनीले करिब १०० जना शिक्षकहरुको १ लाखको म्यादि जीवन बीमा गरेको थियो । सोही अवसरमा कम्पनीले मृगौला पिडित उजाला कुमारी दमाईलाई सिआरएस अन्तर्गत आर्थिक सहयोग स्वरुप २५ हजार रुपैयाँ पनि प्रदान गरेको थियो । यस्तै, कम्पनीले जिल्लाकै जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियाे ।    

सिद्धार्थ इन्स्योरेन्सको सेयर मंगलबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । रोक्का रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंसिर १२ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै कम्पनीको सेयर मंसिर १३ गते बुधबारदेखि किनबेच गर्न पाइने छ । नेप्सेले कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयर कारोवार फुकुवा गरिदिएको हो । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । बराबरी हैसियतमा मर्ज हुन यी दुईले गत असार २७ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यससँगै असार २८ गतेदेखि दोश्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । अब भने लगानीकर्ताहरुले करिब साढे ४ महिनापछि कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.५० प्रतिशत बोनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।