सन् नेपाल लाइफका सीईओ अर्याल रिहा
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्णयअनुसार उनी रिहा भएका हुन् । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) अर्याललाई सेयर किर्ते गरेको आरोपमा चैत्र १६ गते पुतलीसडकबाट पक्राउ गरेको थियो ।
सामुदायिक विकासका लागि मेटलाइफको ६.५ मिलियन डलर सहयोग
काठमाडौं । मेटलाइफ फाउन्डेसनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (CIGP) अन्तर्गत नेपालसहित विभिन्न देशका गैरसरकारी संस्थाहरूलाई सामुदायिक आवश्यकता सम्बोधन गर्न आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनले विश्वभरका संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको जनाएको छ । उक्त कार्यक्रममार्फत खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, वातावरणीय दिगोपन तथा समुदाय सशक्तीकरण क्षेत्रमा काम गर्ने संस्थाहरूलाई सहयोग गरिएको हो । यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाले अनुदान प्राप्त गरेका छन्, जसमा नेपालका दुई संस्था पनि समावेश छन् । सोलुखुम्बुको सोलुचामले ‘Awake’ परियोजनाका लागि दुई वर्षको अवधिमा १,१०,००० अमेरिकी डलर अनुदान प्राप्त गरेको छ। परियोजनामार्फत तीन हजारभन्दा बढी स्थानीयलाई वातावरण संरक्षणसम्बन्धी तालिम, फोहोर व्यवस्थापन, वृक्षरोपण तथा पानी र सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, सोसेक नेपालले ‘SAFE’ कार्यक्रमका लागि दुई वर्षका लागि १,००,००० अमेरिकी डलर सहयोग पाएको छ । कार्यक्रमले किसान, युवा तथा साना व्यवसायलाई दीर्घकालीन खाद्य सुरक्षा, सीप विकास, आर्थिक सुदृढीकरण र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । मेटलाइफ फाउन्डेसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेसले समुदायको समग्र कल्याण सुधार गर्ने संस्थामा लगानी गर्दै व्यक्तिहरू र परिवारलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य रहेको बताएका छन् । सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको हो । हालसम्म कार्यक्रममार्फत २०७ संस्थालाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकिएको छ, जसबाट विश्वभर १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन् ।
यूनाइटेड अजोडको हकप्रद सेयर बिक्री खुला, १०० कित्ता हुनेले नयाँ १० कित्ता पाउने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आज चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।