पहिलो दिनमै १० प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति ?
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साविकको सुर्या लायफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जभएपश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले बुधबार पहिलो कारोबार गरेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.७० रुपैयाँ पुगेको छ । जुन नेप्सेले तोकेको ओपनिङ प्राइसको तुलनामा प्रतिकित्ता ३७.११ रुपैयाँले बढी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ३७१.५९ रुपैयाँबाट ओपनिङ प्राइस तोकेको थियो । बजारमा कम्पनीको ८ लाख रुपैयाँ बराबरको १ हजार ९६५ कित्ता सेयर कारोबार किनबेच भएको छ । मर्जरको क्रममा रहेकोले साविकको सुर्या लायफ र ज्योति लाइफको सेयर कारोबार रोक्का भएको थियो । मर्जर प्रक्रिया सकिएसँगै दोश्रो बजारमा सेयर सूचीकृत भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार शुरु भएको छ । साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर हुँदा सेयर स्वाप अनुपात १००ः०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स १ कित्ता सेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम सेयरधनीहरुको नाममा सेयर कित्ता कायम भएको छ । कम्पनीको पूँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ४९ प्रतिशत रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आई एस ओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
दुर्घटना बीमा गरेरै भएपनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले माघ १० गते उक्त स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए । अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पुर्याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्न प्राधिकरणसँग आग्रह गरे । दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात आग्रह गरे । त्यस्तै, बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुति गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरे ।
महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम २१ जिल्लामा सम्पन्न, ७ सय महिला स्वरोजगार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम पहिलो चरणमा २१ जिल्लामा सम्पन्न भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको थियो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा कार्यक्रमको उद्धघाटन गरेका थिए । रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाडौं, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट, धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भएको यस कार्यक्रममा १ हजार ७५० भन्दा बढी सहभागी भएका थिए । ७०० भन्दा बढी महिला स्वरोजगार भमएको कम्पनीको भनाइ छ । कम्पनीले फागुन र चैत्रभित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिने योजना बनाएको छ । दोस्रो चरणमा १ हजार महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य कम्पनीले लिएको छ ।