बीमा गर्नुस्, क्षति भए कम्पनीले क्षतिपूर्ति दिन्छ : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गण्डकी प्रदेशका नागरिकलाई घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गरेका छन् । बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भन्दै कार्यकारी निर्देशक पौडेलले उक्त आग्रह गरेका हुन् । बीमा प्राधिकरणले गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा माघ १६ गते आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिए । कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए । यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्दै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । साथै, उनले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखेका थिए ।

मर्जरमा जान तीन बीमा कम्पनीलाई प्राधिकरणको पत्र, छलफलमा पनि बोलायो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई पत्र काटेको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरको सम्बन्धमा पत्र काटेको हो । प्राधिकरणले क्रसहोल्डिङ भएका यी कम्पनीलाई पत्र काट्दै मर्जर जाने हो वा होइन ? भन्ने विषयमा जवाफ मागेको छ । साथै, यस विषयमा थप छलफल गर्न यी तीन वटै कम्पनीका अध्यक्षलाई आगामी बुधबार अर्थात माघ १८ गते बीमा प्राधिकरणमा बोलाइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । बीमा प्राधिकरणले एकै व्यक्ति वा समूहको दुई वा सोभन्दा बढी ठाउँमा सेयर भएका (क्रसहोल्डिङ) कम्पनीलाई मर्जरमा जान जोड दिँदै आएको छ । यससँगै यी तीन कम्पनीलाई पनि प्राधिकरणले बारम्बार पत्राचार गर्दै एक आपसमा मर्ज हुन जोड गरेको छ । यद्पि निर्देशन भने दिइसकेको छैन । स्रोतका अनुसार यी कम्पनीबीच स्वाप रेसियोको विषयमा कुरा मिलिनसकेकोले मर्जरको प्रकृया अघि बढ्न नसकेको बुझिन्छ । स्वाप रेसियोमा कुरा मिलेमा छिट्टै मर्जरको प्रक्रिया अघि बढाइने उक्त श्रोतले विकासन्युजसँग भन्यो । हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रूपैयाँ छ । आइएमई जनरल इन्स्योरेन्सको १ अर्ब १५ करोड र प्रुडेन्सियल जनरल इन्स्योरेन्सको १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ । यी तीन कम्पनी एक आपसमा बराबर हैसियतमा मर्ज भएमा मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी साढे तीन अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । आगामी चैत मसान्तसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम साढे २ अर्ब र जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) को निर्देशन छ । प्राधिकरणले गत २०७८ चैत १० गते नै एक वर्षभित्र तोकिएको पुँजी पुर्याउन निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार चुक्ता पुँजी पुर्याउन अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका छन् । त्यसैले पनि पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको दौडधुप बढी देखिन्छ । केहीले भने मर्जरको प्रकृया सकेर एकीकृत कारोबार समेत गरिसकेका छन्, केही एकीकृत कारोबार गर्ने तयारीमा छन् भने केहीले मर्जरको प्रकृया नै शुरु गरेका छैनन् ।

आजदेखि नेप्सेमा ३ बीमा कम्पनीको कारोबार हुँदै, कुनको कतिमा हुन्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विभिन्न ३ कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले यी ३ कम्पनीको आधारभूत सेयरधनीको कारोबार भने रोक्का नै राखेर सर्वसाधारण सेयरधनीको फुकुवा गरेको हो । कारोबार फुकुवा भएसँगै मंगलबारबाट दोश्रो बजारमा ३ वटै कम्पनीको कारोबार हुनेछ । नेपाल धितोपत्र बोर्डको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । नेप्सेमा प्राइम लाइफको प्रतिकित्ता ५०३.५४ रुपैयाँ, गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ र यूनियन लाइफ इन्स्योरेन्सको ४७८.११ रुपैयाँ सेयर मूल्य रहेको छ । गत जेठ ३ गतेदेखि यी कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो । गुराँस लाइफ, युनियन लाइफ र प्राईम लाइफबीच बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।