सानिमा लाईफको दाबी भुक्तानीमा १२६.५९ प्रतिशत छलाङ, नाफा २३ प्रतिशत बढ्यो
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.६२ प्रतिशत बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ०.८४ प्रतिशत बढेर १ अर्ब १७ करोड २० लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२६.५९ प्रतिशत बढेर ३१ करोड ३५ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ८ प्रतिशत बढेर ३५ करोड ९० लाख रुपैयाँ, जीवन बीमा कोष ४४.३८ प्रतिशत बढेर ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ र महाविपत्ति कोष ४ करोड ४८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.७८ गुणा रहेको छ ।
एलआइसी नेपालका सीईओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको केन्द्रिय कार्यालय भारतले नेपालका लागि सीईओ नपठाए पछि माघ १५ गते नै कार्यकाल सकिसकेको दासको कार्यकारल थप गरिएको हो । २६ वर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेका सीईओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् ।
शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कर्माचार्य नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।