१० वटा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी : पोलिसी रोक्नेदेखि १० लाखसम्म जरिवाना लाग्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा विवरण पेश नगरेको भन्दै विभिन्न १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । समयमा विवरण पेश नगरेका ३ वटा जीवन बीमा, ६ वटा निर्जीवन र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटालाई बुधबार पत्रचार गर्दै समयमा विवरण बुझाउन प्राधिकरणले चेतावनी दिएको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएका १० कम्पनीलाई चेतावनी दिइएको प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । ‘बीमा कम्पनीहरुले आफ्नो कारोबारको चौमासिक विवरण पेश गर्नुपर्ने हुन्छ, त्यो नगरेको कारणले जीवन र निर्जीवन गरी १० वटा कम्पनीलाई पहिलो पटक सचेत गराइएको हो,’ प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । उनकाअनुसार समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, निर्जीवन बीमातर्फबाट राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् भने पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले आफ्नो कारोबारको चौमासिक विवरण बुझाएका छैनन् । प्राधिकरणले पहिलो पटकका लागि यी १० कम्पनीलाई पत्राचार गर्दै चेतावनी दिइएको र पटक पटक दोहोरिएमा नगद जरिवानासमेत हुन सक्ने निर्देशक लाल बताउँछन् । ‘अब पनि सुध्रिएन भने सम्पत्ति शुद्धिकरणमा १० लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ,’ उनले विकासन्युजसँग भने । बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले प्रत्येक चार/चार महिनामा कति कारोबार गरे, कुन कुन पोलिसी जारी गरे, शंकास्पद कारोबार भएमा कस्ता कस्ता भए लगायतका सबै विवरण बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेमा कम्पनीहरुलाई नगद जरिवानादेखि पोलिसी जारी गर्न नपाउनेसम्मको कारवाही हुने प्राधिकरणले जनाएको छ ।
मेटलाइफको नयाँ बीमा योजना : मध्यावधिमै ४० प्रतिशत रकम पाइने, दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा पनि
काठमाडौं । मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ । मेटलाइफले ग्राहकहरूको लागि मध्यावधि फाइदाहरु सहितको नयाँ एन्टिसिपेटेड एन्डोमेन्ट जीवन बीमा योजना संचालनमा ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन् अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् । र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १०० प्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्नेछन् । यस योजनाको मध्यावधिपछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले धेरै उत्साहका साथ ग्राहकहरूका लागि नयाँ विशेषता सहितको बीमा योजना ल्याएका बताए । ‘यस बीमा योजनाबाट ग्राहकहरुले आत्मविश्वासका साथ बाँच्न र सँगसँगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन्,’ उनले भने, ‘हाम्रा ग्राहकको आवश्यकतालाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’ यस्ताे छ मध्यावधि वृद्धि बीमा योजनाकाे फाइदा १ . यस योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४० प्रतिशत र परिपक्वता मितिमा बीमाङ्कको ६०% रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ । २. मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको १०० प्रतिशत रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् । ३. यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्कको दोब्बर(२००%) रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमाङ्कको ४० प्रतिशत रकम कटौती गरिने छैन । ४. यस बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेको छ । ५. यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार र अधिकतम बीमाङ्क ५० कराेड रुपैयाँ रहेको छ । ६. बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ । ७. अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी असतmता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।
फागुन १ गतेदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ प्रिमियर, पुँजी २ अर्ब ८० करोड पुग्ने
काठमाडौं । मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आगामी फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले सेड्युलअनुसार काम सकिएमा फागुन १ गतेदेखि नै एकीकृत कारोबार हुने बताए । ‘अब सरकारी काम मात्रै बाँकी छन्, ती सबै काम समयमै सकिएमा फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने हाम्रो टार्गेट हो,’ सीईओ क्षेत्रीले भने । उनका अनुसार मर्जरको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाइसकेको छ । हाल नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार लगायतको सरकारी काम भइरहेको उनले बताए । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । यता सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भइ नसकेको कम्पनीले जनाएको छ । यो विषयमा एकीकृत कारोबार हुनुभन्दा अघि बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने जनाइएको छ । दुई कम्पनीबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । मर्जरमा जानको लागि दुबै कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव समेत पारित गरिसकेको छ । उक्त सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश समेत पारित गरिसकेको छ । यससँगै प्रस्तावित ९ प्रतिशत बोनसपछि सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३९ करोड रुपैयाँ र १४.२५ प्रतिशत बोनसपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनीले गत असार २७ गतेनै एक आपसमा मर्ज हुन प्रारम्भिक सम्झौता गरेर मर्जरको प्रकृया अघि बढाएका थिए ।