आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने, स्वाप रेसियो बराबर

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । क्रसहोल्डिङ रहेका यी दुई निर्जीवन बीमा कम्पनीले मर्जरको तयारी गरिरहेका हुन् । स्रोतका अनुसार यी दुई कम्पनीबीच मर्जरमा जाने अनौपचारिक रुपमा सहमति भएपनि सम्झौता भने भइसकेको छैन । छिट्टै प्रारम्भिक समझदारी (एमओयू) गर्ने तयारीमा छन् । ‘दुई कम्पनी बराबरी हैसियतमा मर्जरमा जाने भएका छन्, भोलिसम्म मर्जर सम्झौता पनि हुन सक्छ,’ स्रोतले विकासन्युजसँग भन्यो । स्रोतका अनुसार दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको नाम  आईएमई जनरल इन्स्योरेन्स नै हुने बताइएको छ । यस्तै, नयाँ कम्पनीको अध्यक्ष, सीईओ, डिसीईओ लगायतको विषय भने छलफलको क्रममै रहेको बुझिएको छ । नेपाल बीमा प्राधिकरणले क्रसहोल्डिङ भएका नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान दबाब दिइरहेको थियो । तर, नेपाल इन्स्योरेन्स भने तत्काल मर्जरमा नजाने भएको छ । ‘नेपाल इन्स्योरेन्स तत्काल मर्जमा जान मानेन, तर पछि आईएमई जनरल र प्रुडेन्सियल मर्जपश्चात बन्ने नयाँ कम्पनीसँग मर्ज हुने सम्भावना बढी छ,’ स्रोतले विकासन्युजसँग भन्यो । हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

महालक्ष्मी लाइफले बढायो डेढ अर्ब पुँजी, दाबी भुक्तानी ३८ प्रतिशत बढ्यो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५.३८ प्रतिशत बढेर ७ करोड १८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३० लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.६२ प्रतिशत बढेर ७३ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ९१ लख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत बढेर १० करोड १७ लाख ८० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३७ लाख ३२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५० प्रतिशत बढेर २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ बढाएको हो । यस्तै, कम्पनीको जगेडा कोष ६०.७० प्रतिशत बढेर ३२ करोड ५९ लाख ३९ हजार रुपैयाँ र जीवन बीमा कोष ५७ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १० करोड ९३ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९९ लाख ६५ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।

मेट लाइफको नाफा ४० प्रतिशत बढ्यो, जीवन बीमा कोष २२ अर्ब

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४० प्रतिशत बढेर १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ प्रतिशत घटेर २ अर्ब ४० करोड ७६ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४२ लाख ३५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत घटेर १ अर्ब ३५ करोड ३१ लख ७८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ७५ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष १२ प्रतिशत बढेर २१ अर्ब ८७ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन २३ करोड १६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३५ लाख ९८ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।