अध्यक्ष सिलवाललाई साक्षी राखेर आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गरे मर्जर सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक अमित अग्रवालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । सम्झौताअनुसार मर्जर पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुवै कम्पनीमा संस्थापकहरुको क्रसहोल्डिङ लगानी रहेको छ । बजारको तीव्र प्रतिस्पर्धालाई ध्यानमा राख्दै एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म थप उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीले सम्झौता गरेका हुन् । साथै, दुबै कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा, प्रभुसँग चैतबाट एकिकृत कारोबार गर्दै
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार संचालनको चार वर्ष पुरा भएको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनी रहेको यस कम्पनीले २०७५ माघ २७ गतेबाट कारोबार सुरु गरेको थियो । कम्पनिले प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशैभरी अभियान संचालन गर्दै आएको छ । कम्पनीले गत आ.व. २०७८/७९ को पुस मसान्तको तुलनामा चालु आ।व। २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४५ प्रतिशत, महाविपत्ति कोषमा ४४.५५ प्रतिशत, कर्जा लगानीमा २९.५५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिएपछि महालक्ष्मी लाइफले प्रभु लाईफ इन्स्योरेन्ससँग मर्जरको लागि अगाडी बढेका छ । भारतिय बीमांकीबाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्रभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश कुमार भट्टराईले बताए । ‘एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास दिलाउन चाहन्छौँ,’ उनले भने ।
अजोड इन्स्योरेन्स कुन सूचकमा कति बलियो ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५.३८ प्रतिशत बढेर ४ करोड ८८ लाख ३२ हजार हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६३ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३४.४३ प्रतिशत बढेर ३० करोड ६१ लख ३९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३० प्रतिशत बढेर १५ करोड ६ लाख ७९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५६ लाख ९३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्तालाई २ करोड ५ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको पुनर्बीमाबाट ११ करोड ३५ लाख रुपैयाँ कमिसशन आय र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड ४० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ५१ प्रतिशत बढेर १७ करोड ८७ लाख रुपैयाँ र बीमा कोष ४४ प्रतिशत बढेर १९ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ९० करोड ४८ लाख रुपैयाँ, बीमा लेख जारी संख्या ७० हजार १९८, कुल दावी भुक्तानी रकम ५३ करोड २८ लाख रुपैयाँ रहेको छ । ४ हजार ८९६ वटा दावी वापत ८३ करोड २२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ९.७६ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.२२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५३.२७ गुणा रहेको छ ।