गण्डकी प्रज्ञा प्रतिष्ठानले स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने

गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’का अनुसार यस वर्ष दुई सय जना कवि, कलाकारको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । ‘दीर्घरोगी, न्यून आय भएका र जीवनभर सिर्जनाकर्ममा लागेकालाई लक्ष्य गरी स्वास्थ्य बीमा कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘प्रदेशका ११ वटै जिल्लाका स्रष्टालाई यसमा समेट्छौँ ।’ प्रतिष्ठानले स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक स्रष्टालाई आवेदनका लागि सार्वजनिक रुपमा सूचितसमेत गरेको छ । स्रष्टाको छनोट प्रतिष्ठानले बनाएको कार्यविधिअनुसार हुने कुलपति खड्काले बताए । सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमको ढाँचा र मापदण्डअनुसार नै स्रष्टाको बीमा गर्न लागिएको हो । प्रतिष्ठानले बीमा गर्दा लाग्ने प्रतिव्यक्ति शुल्क तीन हजार पाँच सय रुपैयाँ स्वास्थ्य बीमा बोर्डलाई तिर्नेछ । सोबापत पाँच जनासम्मको परिवारले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य रु सात सय थप्नुपर्ने प्रावधान छ । ठूलो परिवारले रु दुई लाखसम्मको उपचार सेवा पाउने बोर्डको भनाइ छ । बोर्डले तोकेका एक हजार एक सय सय ३३ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको जाँच तथा उपचार सेवा पनि बीमाबाट हुने गरेको छ । प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले भाषा, साहित्य, सङ्गीत, नाट्य, चित्रकला, मूर्तिकलाजस्ता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाको स्वास्थ्य बीमा गरिने उल्लेख गरे । ‘बीमाको प्रक्रिया अगाडि बढिसकेको छ, आवश्यकताका आधारमा स्रष्टाले यो सुविधा पाउनुहुन्छ,’ उनले भने, ‘यो कार्यक्रमको निरन्तरताका लागि बजेट थप्न सरकारसँग माग गरेका छौँ ।’ स्रष्टाको सम्मानसँगै दुःखसुखमा साथ दिने राज्यको संस्था छ भनेर अनुभूति दिलाउन स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको उपकुलपति गुरुङले बताए । सुरुआतमा थोरै सङ्ख्यामा स्रष्टाको बीमा गरिन लागिए पनि यसबाट सकारात्मक सन्देश प्रवाह हुने प्रतिष्ठानका पदाधिकारीको बुझाइ छ । धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले स्वास्थ्य बीमा कार्यक्रमबाट आर्थिक समस्या झेलिरहेका कवि, लेखकलाई बढी लाभ पुग्ने बताए । ‘जिल्ला तहमा पनि धेरैले बीमाबारे चासो लिनुभएको छ, मापदण्ड बनाएर यसलाई छिटो लागू गर्नुपर्छ,’ उनले भने । प्रतिष्ठानले ‘गण्डकी प्रतिभा उपचार कोष’को अवधारणा पनि अघि सारेको छ । उपचार पाउनबाट कोही पनि स्रष्टा, सर्जकले वञ्चित हुन नपरोस् भनेर कोष स्थापनाको योजना ल्याइएको कुलपति खड्काले बताए । गत वर्ष स्थापना भएको प्रतिष्ठान भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा क्रियाशील छ । रासस

प्रिमियर इन्स्योरेन्सको सीईओ तिमिलाले दिए राजिनामा, जोशीले पाइन् कामुको जिम्मेवारी

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले सीईओ पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोही बैठकले कम्पनीको कायम मुकायम सीईओ पदमा कबिता जोशीलाई नियुक्त गरेको छ । यससँगै उनले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छिन् । उनी कम्पनीको चिफ अपरेटिङ्ग अफिसर तथा आरआई विभागको प्रमुख हुन् । साथै, अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्सको कम्पनी सचिवमा पदम बहादुर थापालाई नियुक्त गरिएको छ ।

एनएलजीका सीईओ पन्त उत्कृष्ट व्यवस्थापक अवार्डबाट सम्मानित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान पुर्याएको भन्दै सीईओ पन्तलाई सो अवार्डबाट सम्मान गरेको हो । सीईओ पन्तले उप-प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट उक्त अवार्ड ग्रहण गरेका हुन् ।