पुँजी ५ अर्ब पुर्याउन संस्थापकबाट रकम उठाउँदै राष्ट्रिय बीमा संस्थान, यस्ता छन् १६ योजना
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ५५औं वर्ष पार गरी ५६औं वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वमा रहेको संस्थानले बिहीबार एक कार्यक्रम आयोजना गरी आफ्नो ५६औं वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा संस्थानका प्रशासक कवि पाठकले बीमाको पहुँचमा वृद्धि गर्दै व्यवसायमा विस्ता गर्ने बताएका छन् । साथै, उनले संस्थानले विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताएका छन् । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको प्रशासक पाठकले जनाए । संस्थानले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख रुपैयाँ सेयर पूँजी (हालको बजार पूजीकरण रकम १ अर्ब ६ करोड रुपैयाँ) लगानी रहेको छ । ऋण लगानी २ अर्ब ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल ४ अर्ब ८८ करोड रहेको छ । हाल यो लगानीको व्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको संस्थानले जानकारी गराएको छ । जलविद्यूत् लगानी तथा विकास कम्पनीमा १ अर्ब सेयर लगानी (हालको बजार पुँजीकरण रकम (१ अर्ब २० करोड रुपैयाँ) गरिएको छ । विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक सेयर लगानी गरिएको छ । नागरिक लगानी कोषमा कुल सेयर पुँजीमध्ये संस्थानको २१.५ प्रतिशत स्वामित्व रहेको छ । यसको अतिरिक्त सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमइ बैंक, एनआईसी एशिया बैंक तथा नेपाल पुनर्बीमा कम्पनीमा संस्थानको संस्थापक तथा साधारण सेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ३० अर्ब २० करोड रुपैयाँ तथा डिबेञ्चरमा ५ अर्ब १० करोड लगानी रहेको छ । संस्थापकहरुले पुँजी थप्नु पर्ने हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्र छ । नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको निर्देशन बमोजिम जीवन बीमा व्यवसाय गर्ने संस्थाको चुक्ता पुँजी ५ अर्ब हुनु पर्नेछ । प्राधिकरणले तोकेबमोजिमको पुँजी पुर्याउन उन संस्थानले संस्थापकहरुलाई पुँजी थप्न पत्राचार गरिसकेको छ । त्यस्तै, संस्थानको पुँजी संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहने गरी पुँजी वृद्धि योजना नेपाल बीमा प्राधिकरणमा पेश गरिएको संस्थानका प्रमुख कार्यकारी अधिकृत कवि पाठकले जानकारी गराए । आगामी दिनमा संस्थानले प्रदान गर्दै आएको सेवाहरु थप छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ । कार्यक्रममा संस्थानका अध्यक्ष ईश्वर पौडेलले गत वर्षमा गरिएको प्रतिवद्धताहरु समयमा पुरा नगर्न नसकेको स्वीकारेका छन् । तर आगामी वार्षिकोत्सवसम्ममा भने अधिकांश प्रतिवद्धता पुरा गर्ने उनले बताएका छन् । बीमा संस्थानलाई कम्पनीमा लैजानको लागि प्रकृया शुरु भएको छ सरोकारवालाहरुको जिज्ञासालाई सम्बोधन गर्ने उनले बताए । संस्थानले केही गर्दै छ भन्ने महशुस गर्न पाइयोस् कार्यक्रममा प्रमुख अतिथि तथा राजश्व सचिव डा. राम प्रसाद घिमिरेले राष्ट्रिय बीमा संस्थानलाई लेखापरीक्षणको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी गराएका छन् । यसमा नियामक निकाय तथा सञ्चालक समितिले सहजिकरण गर्नुपर्ने उनको भनाई छ । त्यस्तै, उनले संस्थानको योजनाहरु कागजमा सीमित नभई समयमै कायान्वयनमा ल्याउनुपर्ने बताए । कुनै पनि संस्था तथा कम्पनी कर्मचारी नहुने र कर्मचारीको वृद्धि विकास पनि महत्व हुने बताउँदै राजश्व सचिव घिमिरेले कर्मचारीको नियमावली पास भइसकेको समेत जानकारी गराएका छन् । साथै, उनले बीमा संस्थानले केही गर्दै छ भन्ने महसुस हुने वातावरणको सिर्जना गराउन समेत संस्थानलाई आग्रह गरेका छन् । यस्ता छन् संस्थानको १६ योजनाहरु संस्थानले चालु आर्थिक वर्षको अन्तसम्ममा बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको काम सम्पन्न गर्ने योजना बनाएको छ । २०८० असारसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्गीय मुल्याङन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने संस्थानको योजना छ । यता अर्थमन्त्रालयले भने संस्थानलाई चैतसम्ममा लेखापरीक्षण हुन बाँकी रहेका सबै वित्तीय विवरणहरु लेखापरीक्षण गराउन निर्देशन दिएको छ । संस्थानले हालसम्म आर्थिक वर्ष २०७२/७३ देखिको लेखापरीक्षण गरेको छैन । आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मको बाह्य लेखापरीक्षकद्धारा लेखापरीक्षण गरी अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको छ । लेखापरीक्षण गर्नुअघि बीमाङ्कीय मूल्यांकन गर्नुपर्ने भएकोले संस्थानले हाल उक्त कामलाई बढी प्राथमिकतामा राखेर अघि बढीरहेको जानकारी गराएको छ । २०७५/७६ सम्मको लेखापरीक्षकद्धारा लेखापरीक्षा गरी अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको संस्थानले जनाएको छ । त्यस्तै, तोकिए बमोजिमको पूँजी कायम गरी संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने संस्थानले जनाएको छ । पुरानो हिसाव भिडान गरी फछ्र्योट गर्ने, संस्थानको डीडीए गर्ने, योजनावद्ध प्रयासबाट संस्थानको समग्र पक्षमा सुधार ल्याउँदै व्यवसाय विस्तार गर्ने संस्थानको योजना रहेको छ । त्यसैगरी, अनुकुल व्यावसायिक वातावरण निर्माण गर्न संगठन संरचना, पूर्वाधार तथा ले-आउटमा आवश्यक परिमार्जन गर्ने, एकीकृत सफ्टवेयर मार्फत हुने बीमाशुल्क संकलन र दाबी भुक्तानीको कारोवारलाई अनलाइन माध्यमबाट गरी थप व्यवस्थित गर्ने संस्थानले जनाएको छ । संस्थानले अभिकर्ताको तालिमलाई उच्च प्राथमिकता दिई नयाँ अभिकर्ता तयार गर्ने र कार्यरत अभिकर्ताहरुको लागि पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ । जीवन बीमा व्यवसायमा नयाँ क्षेत्रहरुको पहिचान गरी सञ्चालनमा रहेका बीमा योजनाहरुको पुनरावलोकन गर्ने र नयाँ योजनाहरु सञ्चालनमा ल्याउने संस्थानका प्रशासक कवि पाठकले बताए । संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, कार्यविधि तथा निर्देशिकाहरुमा समय सापेक्ष सुधार गर्ने तथा आवश्यक्ता अनुसार नयाँ कार्यविधिहरु तर्जुमा गर्ने योजना रहेको छ । संस्थानले आफ्नो सेवालाई छिटो, छरितो र गुणस्तरीय बनाउने, संस्थानको जीवन बीमा कोषलाई न्यून जोखिम तथा उच्च प्रतिफल प्राप्त हुने नयाँ लगानीको क्षेत्र पहिचान गरी लगानीलाई विविधिकरण गर्नेछ । यता लामो समयदेखि बाँकी रहेको जग्गाको नामसारीको काम सम्पन्न गरी छिट्टै आफ्नो नाममा दर्ता गर्ने संस्थानले जनाएको छ । संस्थानले सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने लगायत संस्थानको खरिद नियमावली स्वीकृत गराइ कार्यान्वयन गर्ने योजना बनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा संस्थानले कार्यरत कर्मचारी तथा अभिकर्ताहरुमध्ये उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
सगरमाथा इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको २६ औं साधारण सभाबाट कम्पनीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश पारित भएको हो । सभाले नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति पत्र बमोजिम २० प्रतिशत संस्थापक सेयरलाई समानूपातिक रुपमा सर्वसाधारण सेयरधनी समुहमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, सभाले मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लूम्बिनि जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता सेयर (१००:८०) कायम हूने गरी निर्धारण गरिएको सेयर आदन प्रदान अनूपात हुने गरी गरिएको मर्जर प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तुलनामा ७८/७९ मा १८.१६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै २ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा शूल्क आर्जन गरी एनएफआरएस अनुसार ३७ करोड ८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, कम्पनीले कुल दावी भूक्तानी तर्फ यस आर्थिक वर्ष गत बर्षको तुलनामा ३९.३४ प्रतिशतले बृद्धि गरि १ अर्ब ८५ करोड ६० लाख ६७ हजार भूक्तानी गरेको जानकारी दिएकाे छ ।
बागलुङको निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित
बागलुङ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट दुई करोड बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण सङ्कलन गरिसकेको छ । विवरण सङ्कलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ’ चन्दले भने । रासस