बीमा कम्पनीले राजनीतिक लाभको आधारमा सीएसआर रकम खर्च गर्न नपाउने, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं । बीमा कम्पनीका सञ्चालकहरुले राजनीतिक लाभको आधारमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम खर्च गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको चौथो संशोधन गर्दै उक्त नयाँ व्यवस्था गरेको हो । ‘संचालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन,’ निर्देशिकामा उल्लेख छ । प्राधिकरणका अनुसार यो निर्देशिका तत्काल लागू हुने छ । यसअघि भने कम्पनीका सञ्चालकहरुलाई सीएसआरको रकम खर्च गर्नको लागि कुनै पनि प्रतिबन्ध थिएन । उक्त संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको खुद नाफाको एक प्रतिशत रकम छुटयाई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने छ । र, उक्त कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने संशोधित निर्देशिकामा तोकिएको छ । संशोधित निर्देशिका अनुसार कम्पनीहरुले सामाजिक परियोजनाहरुमा जस्तै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धि कार्यक्रम आदिमा गरिने खर्च गर्न पाउने छन् । त्यस्तै, प्रत्यक्ष अनुदान खर्चतर्फ अति विपन्न तथा सिमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा खर्च गर्न पाउने व्यवस्था छ । त्यसैगरी, नेपाल सरकारको गरिवी निवारण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्धारा रक्षावरण गर्दा सीएआरको रकम खर्च गर्न पाइने छ । आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड डे केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च सीएसआरबाट गर्न मिल्ने छ । कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च भने सीएसआर कोषबाट व्यहोर्न नपाइने भएको छ । तर संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यको रुपमा उल्लेख गर्न सकिने संशोधित निर्देशिकामा भनिएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तै-शिक्षा, स्वास्थ्यमा मात्रै सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्ने छ । कोषको रकम खर्च गर्दा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि यस व्यवस्था अनुसार पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया, कोषको सञ्चालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाई लागू गर्नुपर्ने प्राधिकरणको नयाँ व्यवस्था छ । साथै, कोषको व्यवस्था तथा सोबाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत खुलाउनु पर्ने प्राधिकरणले जनाएको छ । यसअघि तेश्रो पटक संशोधन भएको निर्देशिकामा कम्पनीहरुले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि बीमा साक्षरता तथा समितिले समय समयमा तोकि दिएका अन्य क्षेत्रहरुमा मात्रै सीएसआरको रकम खर्च गर्न पाउने व्यवस्था थियो ।

गाउँपालिकाद्धारा वडावासीको स्वास्थ्य बीमा, पहिलो पटकमै दुई हजारले पाए सुविधा

रसुवा । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी दिए । उनले यही फागुन १ गतेबाट एकवर्षे बीमाको सुविधा लागू भइसकेको र बीमाकर्ताले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सुविधा पाउने बताउनुभयो । पाँच गाउँपालिका रहेको जिल्लामा कालिकाले आफ्ना वडावासीलाई पहिलोपटक स्वास्थ्य बीमामा सहयोग गरेको हो । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाका अनुसार अनुसार गाउँपालिकाले बीमाका लागि वार्षिक एक करोड रुपैयाँ भुक्तानी गर्दै जाने छ । स्थानीय सरकारले गरिदिएको बीमाबाट ग्रामीण दूरदराजका बासिन्दालाई उपचारमा निकै सहजता मिल्ने जिबजिबेका समाजसेवी साधुराम पौडेलले बताए । यार्सा, सरमथली, भोर्ले सरसिउ, बेताङ, जिबजिबे, ज्याङलाङ, रूप्सेपानी, भदौरेसमेत आसपासका ग्रामीणवासीलाई प्राथमिक उपचारमा मद्दत पुु¥याउने उद्देश्यका साथ विसं २०३३ मा जिबजिबेकमा स्वास्थ्य सस्था स्थापना गरिएको थियो । यसका लागि तत्कालीन अग्रज समाजसेवी चुडामणिा पौडेल, देवीदत्त पौडेल, गोविन्दप्रसाद देवकोटा एवं डिल्लीराज देवकोटा लगायतले योगदान दिएका थिए । सो अस्पतालमा दम, रूघाखोकी, गानुगोला, ज्वरो, झाडापखला, बाथ, उच्च रक्तचापलगायत दैनिक सरदरमा दैनिक ३५-४० बिरामी आउने गरेको डा सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्रोत साधनको अभावमा अस्पतालमा उपचार हुन नसकेका बिरामीमध्ये वार्षिक सरदर पाँचदेखि १० जनालाई सुविधायुक्त अस्पतालमा सिफारिस गर्ने गरिएको छ । सो अस्पतालले सुरक्षित मातृत्व सेवा, क्षयरोग उपचार, प्रयोगशाला, फार्मेसी, परिवार नियोजन, दन्त, मेडिकल सर्जिकल, गर्भपतनलगायत सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा पाँच चिकित्सक कार्यरत रहेको सो अस्पतालका प्रमुख डा बिनित रेग्मीले बताए । पन्ध्र शय्या क्षमताको अस्पतालमा डिजिटल प्रणालीको एक्सरे, औषधिसहितको व्यवस्था रहेको र स्थानीयस्तरमा उपचार हुन नसकेका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लान एम्बुलेन्ससमेत रहेको बताइएको छ । उत्तरी रसुवाका लागि सदरमुकाम धुञ्चेमा १५ शय्या क्षमताको अस्पताल छ भने अन्य स्थानका लागि स्वास्थ्यचौकी छन् । लाङटाङ, टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे, हाकु, डाडागाउँ, ठूलोगाउँ, कर्मिडाँडा, पारच्याङ, यार्सा, थुमन, चिलिमे, गोल्जुङसमेतका स्थानमा स्वास्थ्यचौकी रहेको र प्राथमिक उपचार स्वास्थचौकीमा नायबसुब्बास्तरको प्राविधिक हेल्थ असिस्टेन्टको नेतृत्वमा सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दुई अस्पतालमा दुईवर्षे कार्यकालका लागि करार सेवाअन्तर्गतका दर्जनौं चिकित्सक राखिए पनि साधन स्रोतको अभावमा बिरामीलाई काठमाडौं सिफारिस गर्ने परिपाटी भने अन्त्य हुन सकेको छैन । रासस

सिटिजन लाइफले सञ्चालनमा ल्यायो डायनामिक क्युआर पेमेन्ट सिस्टम, सबै शाखाबाट भुक्तानी गर्न मिल्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । कम्पनीले आफ्ना ग्राहकको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई-सेवा सँगको सहकार्यमा यस सिस्टम सञ्चालनमा ल्याएको हो । उक्त सिस्टमको उद्घाटन कम्पनीका एक बीमितद्वारा बीमाशुल्कको प्रत्यक्ष भुक्तानी (लाइभ पेमेन्ट) गरी गरिएको हो । डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ । यस प्रकारको सिस्टमले सम्पत्ति शुद्धिकरणमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यससँगै अब सिटिजन लाइफको १४० शाखा तथा उपशाखा कार्यालयहरुबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।