प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुँदै

काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ । दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि  सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार  बुधबारदेखि रोक्का हुने भएको हो । प्रिमियर र सिद्धार्थबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक पत्र काट्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालको कार्यकाल नथप्न सञ्चालक समितिलाई निर्देशन दिएको हो । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । यता बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै प्राधिकरणले उक्त नियुक्तिलाई पुनर्विचार गर्न सञ्चालक समितिलाई पत्राचार गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘मर्जरमा जानको लागि सुविधा दिएका थियौं, अब मर्जरमा नजाने भएसँगै सञ्चालक समितिलाई नै निर्णय गर्न पत्र काटेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने । यसअघि नेपाल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा थिए । तर नेपाल इन्स्योरेन्स भने उक्त निर्णयबाट पछि हट्यो भने आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । बीमा ऐन २०७९ अनुसार कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल ४ वर्षको हुने र आवश्यक परेमा थप एक कार्यकालको लागि पुनः नियुक्त गर्न सकिने व्यवस्था छ । इन्स्योरेन्सका अध्यक्ष शर्मा २०७३ साल साउन १४ गते कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका थिए । त्यस्तै, सञ्चालक अग्रवाल २०७४ साल कार्त्तिक ६ गते इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

बीमा गरिएको सम्पत्ति नोक्सानी भए कति पाइन्छ क्षतिपूर्ति ? यस्ता छन् दावी दिँदा चाहिने कागजातहरु

अचानक भवितव्यबाट हुने कुनैपनि क्षतिलाई आर्थिक सुरक्षाको माध्यमबाट उक्त हानी नोक्सानीको पूर्ति गर्दै सामान्य जिवनयापन गर्ने पारस्परिक सहयोग एवं समझदारीबाट अघि बढ्ने कानुनी प्रक्रिया नै बीमा हो । यसलाई जोखिम हस्तान्तरण गरिने माध्यम पनि भनिन्छ । लण्डनको लियोड्स कफी हाउसबाट जोखिम परेकाहरु एकजुट भई आफ्नो सदस्यहरुको पानी जहाजबाट आउने जाने सामानको दुर्घटनाबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति स्वरुप भएको सामुन्द्रिक बीमा आजको आधुनिक समाजमा दिनानुदिन लोकप्रिय बन्दै मानिसको जीवनको आर्थिक सुरक्षाको अभिन्न अंग बन्दै गइरहेको छ । आज निर्जीवन बीमामा दुर्घटना, औषधो उपचार, अग्नि, भूकम्प, प्राकृतिक प्रकोप, हुलदंगा हडताल, आतंकवाद, मोटरसाइकल, हवाइजहाज, कृषि पैदावार, पशुधन, निक्षेप तथा ऋण सुरक्षण आदीको बीमालेखले जोखिम बहन गर्दै आएको छ । बीमा कम्पनीको दुई प्रमुख कार्य हुन्छन् । पहिलो कार्य : सम्भावित जोखिम विभिन्न शर्त पालन गर्ने गरि बीमालेख जारी गर्नु । दोस्रो कार्य : बीमालेख जारी गरे पश्चात सम्भावीत दुर्घटना क्षति भए पछि दावी भुत्तानी फर्छ्यौट गर्नु । जब कुनै पनि दावी सम्बन्धी घटना घट्न जान्छ तबमात्र बीमितको लागी बीमालेख अर्थपूर्ण हुन्छ । निर्जीवन बीमाको मुख्य उद्देश्य बीमितले बीमाशुल्क भुक्तानी गरिसकेपछि बीमा गरिएको सम्पत्ति हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति गर्नु बीमा कम्पनीको दायित्व हो । बीमाशुल्क भनेको बीमा कम्पनीले बीमा प्राधिकरणबाट निर्दिष्ट गरेबमोजिम जोखिम ग्रहण गरेबापत लिने शुल्कलाई बुझिन्छ । जो सम्पत्तिको मूल्य बीमांक रकम (सम इन्स्योर्ड) को आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । तर्सथ बीमितले बीमा सम्पत्तिको बजार मूल्यको आधारमा सहि मूल्य निर्धारण गरि बीमांक रकम तोक्नु पर्छ । त्यसैगरी बीमितले दावी परेको बखत दावीको उल्लेखित क्षतिपूर्ति पाउन पनि सहि बीमांक तोकिन आवश्यक हुन्छ । निर्जीवन बीमा नाफा नभई क्षतिपूर्तिको सिद्धान्तमा आधारित बीमा हो जस बमोजिम दावी परेको बखत बीमीतलाई दावी भुत्तानी गरि बीमितलाई सकभर दावी पर्नभन्दा अगाडिको यथास्थितिमा पुर्याई दिनु हो तर यदि पछि बीमितले बीमा गर्दा सम्पत्तिको बीमांक रकम मूल्यभन्दा कम तोकेको भएमा न्यून बीमा (अन्डर इन्स्योरेन्स) भएको मानिन्छ । बीमितले आफ्नो सम्पूर्ण सम्पत्तिको कम बीमांक तोकेर बीमाशुल्क पनि कम मात्र भुक्तानी गरेको हुन्छ । तसर्थ दावी पर्दा सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति गरी दिनु बीमा कम्पनीको दायित्व हुँदैन । क्षतिपूर्तिको सिद्धान्त बमोजिम बीमांक रकम कम तोकिएको अवस्थामा जति प्रतिशतले न्यून बीमा हुन्छ सोही अनुपातमा क्षतिपूर्ति रकम पनि कम पाइन्छ । यसको सानो उदाहरण यस प्रकार छः बीमितको वास्तविक क्षति ५ लाख भएता पनि बीमितले क्षति भएको सम्पत्तिको बजार मूल्यभन्दा कम्तिमा बीमांक भएको हुँदा बीमकले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्दछ । अर्थात् बीमकले समानुपातिक रुपमा क्षतिपूर्ति प्रदान गर्दछ । दावी परेको सम्पत्तिको मूल्य नाफा बाहेकको मूल्य भन्ने बुझ्नु पर्दछ । अतः आफ्नो सम्पत्तिको बीमा गर्दा सही बीमांक रकम तोकी बीमालेख खरिद गर्नुपर्छ । जसले गर्दा भविष्यमा हुने हानी नोक्सानीको वास्तविक क्षतिपूर्ति पाइन्छ । यदि बीमांक रकम वा दोहोरो बीमालेख जारी गरि बीमा भएको खण्डमा दावी पर्दा बढि क्षतिपूर्ति नदिई नोक्सानीको सहि मूल्याङ्कन गरेर मात्र भुक्तानी दिइने हुनाले बढि बीमांक वा दोहोरो बीमालेख जारी गर्दा बीमाशुल्क मात्र बढी तिर्नु पर्ने हुन्छ डबल फाइदा पाइँदैन । निर्जीवन बीमामा बीमालेखले क्षतिपूर्ति गर्ने अधिकतम सीमा बीमांक रकम नै हुन्छ, कुनै पनि बीमालेखले बीमांक रकमभन्दा बढी क्षतिपूर्ति प्रदान गर्ने छैन । सम्पत्तिको वास्तविक मूल्य निर्धारण गर्ने आधारहरु १) खरिद मूल्य- सुरुमा सामान खरिद गर्दा परेको वास्तविक मूल्य २) ह्रासकट्टी पछिको मूल्य- डिप्रिसिएटेड भ्याल्यु तोकिएको दरमा खरिद मूल्यमा नियम बमोजिम ह्रासकट्टी गरि कायम हुन आउने मूल्य ३) बजार मूल्य- दुई पक्ष समझदारीको आधारमा किनबेच हुने मूल्य ४) मूल्यांकित वस्तुहरु- बहुमूल्य धातु तथा कलात्मक वस्तुहरु तपाईंले आफ्नो भवन वा फ्याक्ट्रीको बीमा गर्नु पर्यो भने भवन वा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरणको बीमांक रकम तोक्दा नयाँ भवन तथा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरण नयाँ बनाउन लाग्ने खर्चमा भवन तथा मेसिन कति पुरानो छ त्यो बापत ह्रासकट्टी गर्दा आउने मूल्य बराबर बीमांक रकम राख्दा न्यून बीमा हुने सम्भावना कम हुन्छ । अन्य सम्पत्तिमा पनि यहि नियम लागू हुने गर्दछ । साथै, त्यसमा हालको बजार मूल्यको आधार मानेर पनि ह्रासकट्टी गरि बीमांक रकम तोक्न सकिन्छ । साधारणतया मोटर बीमा बाहेक ह्रासकट्टी पछिको मूल्यको आधारमा बीमांक निर्धारण गरि दावी पर्दा सोही आधारमानी क्षति मूल्याङ्कन गरि दावी भुक्तानी गरिन्छ । सवारी साधनको बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरु : – दुर्घटनाको लिखितम जानकारी – सवारी साधनको सम्पूर्ण प्रमाण पत्रहरु – चालक अनुमति पत्र – सवारी मर्मत गर्न लाग्ने अनुमानित खर्च – सवारी मर्मतको नगद बील – चालकको बयान – दावी फारम – प्रहरी प्रतिवेदन – बीमालेखको प्रतिलिपी – मिला पत्र – औषधि उपचारको बील तथा रिपोर्टहरू – अन्य कागजातहरु सम्पत्ति बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरू : – दुर्घटनाको लिखित जानकारी – बीमालेखको प्रतिलिपी – दावी फारम – अनुमानित खर्च – नगद बील – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – अन्य कागजातहरु कृषि, पशुपंक्षी, बाली तथा जडिबुटी दावी गर्दा चाहिने कागजातहरु : – दुर्घटनाको लिखित जानकारी – दावी फारम – बीमालेखको प्रतिलिपी – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – सर्जमिन मुचुल्का – अन्य कागजातहरु (लेखक खनाल हाल आईएमई जनरल इन्स्योरेन्समा कार्यरत छन् । उनी सो इन्स्यारेन्सको प्रवर्द्धक हुन् ।)