नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले दिए राजिनामा, अध्यक्षमा पौडेल सर्वसम्मत

काठमाडौं । नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले फागुन १७ गते राजिनामा दिएका हुन् । दुई सञ्चालकले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका हुन् । जसलाई फागुन १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरिसकेको छ । त्यस्तै, सोहि दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक लक्ष्मण पौडेललाई नयाँ अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै बीमा प्राधिकरणले दुई सञ्चालकको नियुक्तिको सम्बन्धमा सञ्चालक समितिलाई नै निर्णय गर्न पत्राचार गरेको थियो । सम्बन्धित समाचार : नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई नम्बर वान कायम राख्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरपश्चात् नम्बर वान कम्पनीका रुपमा उदाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले बताएका छन् । यसअघि पनि अग्रणी कम्पनीका रुपमा रहेका यी कम्पनी मर्जर पश्चात् झनै ठूलो बनेको अध्यक्ष श्रेष्ठले बताए । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबारमा बोल्दे उनले यो मर्जरले बीमा क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । उनले नम्बर वानको ताजलाई कायम राख्नेगरी काम गर्ने बताए । ‘दुई अग्रणी कम्पनी मर्जर गर्न सफल भएका छन्, मर्जर पश्चात् अधिकांश वित्तीय सूचकमा नम्बर वान बनेका छौं, यो मर्जर सबै कम्पनीका लागि कोशेढुंगा सावित हुनेछ, मर्जर पछि नम्बर वानको ताजलाई कायम राख्नेछौं,’ उनले भने । हालसम्म बीमा प्राधिकरणका नीति निर्देशन पालना गर्दै आएकोमा मर्जर पश्चात् पनि त्यसलाई निरन्तरता दिने उनले बताए । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ र बीमा कोष २ अर्ब ३४ करोड रुपैयाँ पुगेको उनको भनाइ छ । साथै, कम्पनीको कूल लगानी ७ अर्ब ३० करोड रुपैयाँ र कूल सम्पत्ति १० अर्ब २५ करोड रुपैयाँ पुगेको छ । मर्जरपश्चात् कम्पनीको शाखा कार्यालय १२५ पुगेका छन् भने कर्मचारीको संख्या ६५० जना पुगेको छ । कम्पनीको बजार हिस्सा १८ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

अब मर्जर गर्ने पालो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको हो : सीईओ क्षेत्री

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर छिट्टै हुने बताएका छन् । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै क्षेत्रीले छिट्टै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबार हुने बताएका हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले स्वस्थ प्रतिस्पर्धाका लागि मर्जर प्रक्रिया आवश्यक रहेको बताए । मर्जरपश्चात् कम्पनीले राम्रो सिनर्जी ल्याउन सक्नु पर्ने उनको भनाइ छ । ‘मर्जर पश्चात् सिद्धार्थ प्रीमियर इन्स्योरेन्सले राम्रो सिनर्जी ल्याउनेछ, स्वस्थ प्रतिस्पर्धा गर्नका मर्जर आवस्यक छ, अबको मर्जरको पालो सगरमाथा कम्पनीको हो,’ उनले भने । यसअघि मर्जरका लागि सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको छलफल भएपनि सम्भव नभएको समेत बताए । उनले मर्जर नगर्ने कम्पनीलाई बीमा प्राधिकरणले के गर्ने हो भनेर प्रश्न समेत गरे । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच गत माघ १७ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । त्यसैले अब एकीकृत कारोबार गर्न मात्रै बाँकी रहेको छ । मर्जर पश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । दुवै कम्पनी सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) क्रमश १००:८० अनुपातमा मर्ज हुनेछन् । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।