सानिमा रिलायन्सको एकीकृत कारोबार शुभारम्भ, नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने अपेक्षा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुभारम्भ गर्न लागेका हुन् । मर्जरमा जानको लागि यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो । दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १:१ स्वाप रेसियोमा एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । कुन सूचकमा कत्रो बन्यो कम्पनी ? एकीकृत कारोबार भएपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, गत माघसम्मको तथ्यांक अनुसार कम्पनीको प्रथम बीमाशुल्क कूल एक अर्ब ६७ करोड र कूल बीमाशुल्क ३ अर्ब २६ करोड नाघ्ने छ । सानिमा लाइफले गत माघसम्ममा ४७ करोड ५२ लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने रिलायन्स लाइफले ५२ करोड १५ लाख रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, कूल बीमाशुल्क पनि सानिमा लाइफको एक अर्ब ४८ करोड र रिलायन्स लाइफको एक अर्ब ७८ करोड रुपैयाँ आर्जन भएको थियो । मर्जपश्चात् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बन्नेछन् । त्यस्तै, नयाँ बन्ने कम्पनीको सञ्चालक समितिसँगै अध्यक्ष र वरिष्ठ डीसीईओको विषयमा भने आज बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गर्ने कम्पनी श्रोतले बतायो । नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने मर्जर पश्चात् नयाँ सिनर्जीका साथ बन्ने कम्पनीले भविष्यमा थप राम्रो प्रतिफल प्रदान गर्ने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियाले बताए । त्यस्तै, सानिमा लाइफका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले दुबै कम्पनी एक आपसमा गाभिए पश्चात सञ्चालन हुने कम्पनीले नेपालको बीमा क्षेत्रमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्ने बताए । त्यसको लागि आवश्यक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने, संस्थागत एवम् व्यवसायिक सुशासन, पारदर्शिता जस्ता नीतिहरु अवलम्बन गर्ने, सेवाग्राहीको आवश्यकता अनुरुपको नवीन बीमा योजनाहरु तर्जुमा गर्ने लक्ष्य रहेको उनको भनाई छ । साथै, एक आपसमा गाभिए पश्चात् कम्पनीको पुँजी वृद्धिको साथै कम्पनीको गुणस्तर, व्यवसायमा पनि बढ्ने उनले बताए । दुई कम्पनीबीचको यो मर्जर जीवन बीमा क्षेत्रकै दोश्रो मर्जर हो । यस्तो बन्यो लोगो : कलर कम्बिनेस बराबर, स्लोगन रिलायन्सकै मर्जरपछि बनेको सानिमा रिलायन्स कम्पनीको लोगोमा सानिमा लाइफ र रिलायन्स लाइफ दुबै कम्पनीको लोगोको मिश्रण छ । दुबै कम्पनीको कर्पोरेट कलर कम्बिनेस बराबर रुपमा गरिएको देखिन्छ । स्लोगन भने रिलायन्स लाइफकोलाई नै निरन्तरता दिइएको छ । रिलायन्स लाइफको ‘खुलेर जिऔं’ भन्ने स्लोगन अब नयाँ कम्पनी सानिमा रिलायन्सकोमा देख्न सकिन्छ । यसअघि सानिमा लाइफ इन्स्योरेन्सको स्लोगन भने ‘निश्चिन्त भवः’ थियो ।

अब खाद्यान्न बालीको पनि बीमा, ८ प्रकारका क्षतिको रक्षावरण हुने, २ लाखसम्मको दुर्घटना बीमा पनि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेको छ । प्राधिकरणले धान, मकै, गहुँ, जौ र कोदो लगायतका खाद्यान्न बालीको पनि बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो । प्राधिकरणले कृषि बीमालेखअन्तर्गत यो बीमालेख जारी गरेको हो । २०७९ फागुन १८ गते जारी भएको यो बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ । यो बीमालेखले विभिन्न ८ प्रकारको क्षतिको रक्षावरण गर्ने छ । जसमा अग्निजन्य (आगलागी वा आगो), हावाजन्य (हुरीबतास, आँधिबेहरी वा तफान), पानीजन्य (वेमौसमी वर्षा, असिना, बाढी वा डुवान) मौसमजन्य (खडेरी, तुसारो), भूमिजन्य(भूकम्प वा पहिरो), चट्याङ्जन्य (चट्याङ्), रोग तथा किराजन्य (रोग र किरा), आकस्मिक तथा दुर्घटनाजन्य (जंगली जनावरले खाएर, कुल्चिएर, माडेर वा खोस्रेर) बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण गर्ने छ । २ लाखसम्मको दुर्घटना बीमा यो पोलिसी अन्तर्गत बीमा गरेबापत बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउने छन् । अर्थात बीमा अवधिभित्रमा आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, हड्डी, एक वा दुबै हात र एक वा दुबै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई २ लाख रुपैयाँ भुक्तानी गर्ने छ । बीमालेखको अवधि खाद्यान्न बाली बीमालेख जारी गर्दा घण्टा र मिनेटसमेत खुल्ने गरी समय उल्लेख गर्नुपर्ने छ । बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । त्यस्तै, बीमालेखको अवधि समाप्त हुने मितिको मध्यरात १२ बजे बीमा अवधि समाप्त हुने छ । खाद्यान्न बालीको लागि बीमालेखको अवधि बालीको जात, सिफारिस क्षेत्र तथा पाक्ने दिनलाई आधार लिई अधिकतम ११ महिनासम्मको हुने छ । रैथाने जातको हकमा भने सम्बन्धित जिल्लास्थित कृषि हेर्ने कार्यालय वा स्थानीय तहको सम्बन्धित शाखाले सिफारिस गरे बमोजिमको हुने व्यवस्था छ । त्यस्तै, एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीको आंशिक रुपमा बीमा गर्न नपाइने उल्लेख छ । प्रिमियम अधिकतम ५ प्रतिशत खाद्यान्न बालीको बीमाशुल्क (प्रिमियम) बीमाङ्क रकमको ३ देखि ५ प्रतिशतसम्म हुने छ । यो बीमालेख अनुसार धान, मकै र गहुँ बालीको हकमा बीमांक रकमको ५ प्रतिशतका दरले र जौ र कोदोको बालीको हकमा बीमांक रकमको ३ प्रतिशतका दरले प्रिमियम कायम हुने व्यवस्था छ । उत्पादनमा आधारित खाद्यान्न बाली बीमालेखको पूर्णपाठ [pdf id=396751]

सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेका हुन् । दुई कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गर्ने सिफारिस गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको कम्पनी श्रोतले जानकारी गराएको छ । सम्भवतः प्राधिकरणले भोलिनै स्वीकृति दिँदै छ । प्राधिकरणले स्वीकृति दिएलगत्तै पाण्डेले मर्जपछि बन्ने नयाँ कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्ने छन् । मर्जर प्रकृयामा रहेका दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट भोलि अर्थात चैत ९ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । हाल कुनै इन्स्योरेन्स कम्पनीमा आवद्ध नरहेका पाण्डेसँग बीमा क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाले । पाण्डेले सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।