सानिमा रिलायन्स लाइफको सीईओ बने शिवनाथ पाण्डे, प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त भएका हुन् । बीमा प्राधिकरणले पाण्डेलाई कम्पनीको सीईओ बन्न आइतबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ पाण्डेले पनि आफू एक वर्षे कार्यकालको लागि सानिमा रिलायन्स लाइफको सीईओ पदमा नियुक्त भएको बताएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरपश्चात सञ्चालक समितिले पाण्डेलाई सीईओमा नियुक्त गरेको थियो । कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले आइतबार पाण्डेलाई सीईओ बन्न स्वीकृति दिएको हो । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफबीच मर्जर सम्पन्न भई गत चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । को हुन् पाण्डे ? पाण्डेसँग बैंक तथा बीमा क्षेत्रमा साढे ३ दशकभन्दा बढी समय काम गरेको अनुभव छ । यसअघि उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष सीईओको कार्यभार सम्हाले । पाण्डे सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।

गुराँस लाइफले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१/७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पायो पूर्णता, को को थपिए ?

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई नियुक्त गरेको छ । जसमध्ये सञ्चालक जोगाई र पौडेल गत चैत १ गते नै नियुक्त भएका हुन् भने रायमाझी भने चैत ९ गते इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक जोगाई (संस्थापकतर्फबाट) अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल (सर्वसाधारणतर्फबाट) श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । सो दिन अपरान्ह बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, नवनियुक्त तीन जना सञ्चालकले चैत ९ गते बिहीबार नै आफ्नो पद तथा गोपनियताको शपथ समेत लिइसकेको कम्पनी श्रोतले बतायो । यसअघि कम्पनी सञ्चालक समितिमा अध्यक्षमा लक्ष्मण पौडेल, सञ्चालकमा चन्द्र सिंह साउद र सविता श्रेष्ठ जोशी) थिए । र, रिक्त रहेको बाँकी पद पुरा गर्न कम्पनीले थप तीन जनालाई नियुक्त गरेको हो । यससँगै, कम्पनीको सञ्चालक समितिमा ६ जनाको टीम बनेको छ ।