घरजग्गा बेचेर पुँजी वृद्धि गर्दै नेपाल इन्स्योरेन्स, स्वीकृतिका लागि पुग्यो प्राधिकरण
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग सहमति मागेको हो । कमलादीको जग्गा भने मुख्यालय बनाउन आवश्यक हुने भन्दै बिक्रीमा राखेको छैन । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले दुई साताअघि नै जग्गा तथा सेयर बेचेर पुँजी वृद्धि गर्ने निर्णय गरेको एक सञ्चालकले बताए । जग्गा तथा भवन बेच्नुपूर्व बीमा प्राधिकरणको सहमति लिनुपर्ने नीतिगत व्यवस्था भएकोले स्वीकृतिको लागि प्राधिकरणमा प्रस्ताव गरिएको उनले विकासन्युजलाई बताए । सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने प्रस्ताव आएमा स्वीकृत दिने बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । तर अहिलेसम्म उक्त प्रस्ताव प्राधिकरणमा नगएको उनले बताए । ‘चारै ठाउँको जग्गा बेच्नु पर्दैन, बेच्न राख्ने बित्तिकै सबै बिक्छ भन्ने पनि हुँदैन’ कम्पनी सम्बद्ध स्रोतले भन्यो- ‘जुन जग्गामा राम्रो मूल्य आउँछ, त्यो बेच्छौं, आवश्यक पर्दा कुमारी बैंकको सेयर पनि बेच्न सकिन्छ ।’ कम्पनीले कुमारी बैंकको सेयर पनि बिक्री गर्ने निर्णय गरेको छ । उक्त सेयर बेचेर करिब १० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । स्वाप नमिलेपछि मर्ज हुन सकेन नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स तीन वटैलाई आपसमा मर्ज हुन बीमा प्राधिकरणले लिखित निर्देशन दिएको थियो । प्राधिकरणमा भएको उपस्थितिमा तीन कम्पनीका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल पनि भएका थिए । उक्त बैंठकमा तीन वटै कम्पनीको सेयर स्वाप रेसियो बराबरी गर्ने प्रस्ताव आईएमई र प्रुडेन्सियलले गरेका थिए । तर नेपाल इन्स्योरेन्सले आफूसँग भएको अचल सम्पत्तिको मूल्याङ्कनका आधारमा नेपाल इन्स्योरेन्सको १०० बराबर अन्य दुई कम्पनीको ७० देखि ७५ मात्र हुने दावी गरेपछि मर्जको कुरो मिलेको थिएन । नेपाल इन्स्योरेन्समा नेपाल बैंकको १५ प्रतिशत सेयर छ । नेपाल बैंकमा ५१ प्रतिशतभन्दा बढी सरकारको लगानी छ । यसरी सरकारी लगानी रहेको कम्पनीको सम्पत्तिको मूल्याङ्कन पारदर्शी रुपमा नगरी मर्जमा जान नसकिने नेपाल बैंकमा प्रतिनिधिले अडान लिएपछि तीन कम्पनीबीच मर्ज हुन सकेको थिएन ।
सरकारी विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौँ’, उनले भने, ‘स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’ स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु तीन हजार पाँच सय शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ । सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेको अध्यक्ष चुमानले जानकारी दिए। यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्नेलगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ । कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौँ हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ । सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए । रासस
सलिकोको सीईओ क्षेत्रीले पाए बीमा प्राधिकरणको स्वीकृति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज (चैत १३ गते) सोमबार सलिकोको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । यसअघि क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको सीईओ थिए । साविकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा क्षेत्रीलाई नियुक्त गरिएको थियो । मर्जपछि बनेको कम्पनीको नयाँ सञ्चालक समितिले गत फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै स्वीकृतिको लागि प्राधिकरणमा पठाइएको थियो । जुन, करिब तीन सातापछि प्राधिकरणले स्वीकृति दिएको छ । यससँगै नवनियुक्त सीईओ क्षेत्रीले आगामी चार वर्षसम्म सलिकोको कार्यभार सम्हाल्ने छन् । क्षेत्रीसँग बीमा क्षेत्रमा दुई दशक भन्दाबढी समयको अनुभव छ । क्षेत्रीले साविकको सगरमाथा इन्स्योरेन्समा सीईओको रुपमा डेढ कार्यकाल बिताए । उक्त इन्स्योरेन्समा जानु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका थिए । साथै, क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् ।