स्वास्थ्य सचिव भन्छन् : निजी अस्पताललाई स्वास्थ्य बीमाको जिम्मा दिनुहुन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भएपनि सरकारको अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्ने उनी बताउँछन् । ‘मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरुलाई बीमाको जिम्मा दिन सकिएपनि निजी अस्पताललाई बीमा दिँदा दुरुपयोग भइरहेको छ, अहिलेको स्वास्थ्य बीमा बीमा जस्तो नभइ राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो छ,’ उनले भने । अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने उनको भनाइ छ । ‘यस वर्ष पनि साढे ८ अर्ब भन्दा बढी बीमितहरुले सुविधा लिएको पैसा दिन बाँकी छ, प्रिमियम उठाउने पैसाले बीमा सञ्चालन गर्न गाह्रो छ, बीमामा सरकारका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई नसमेटिएसम्म बीमा परिष्कृत हुन सक्दैन,’ उनले भन्छन् । बीमामा व्यक्तिले केही मात्रै पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने उनको दाबी छ ।

सूर्यज्योती लाइफ इन्स्योरेन्सका सेयरधनीको यस वर्ष हात खाली

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत १ गते साँझ बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । २०७८/७९ मा दुवै कम्पनीको नाफा वितरण योग्य रहेपनि यस वर्ष भने सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्सले २०७७/७८ मा  पनि लाभांश वितरण गरको थिएन । आर्थिक वर्ष २०७६/७७ मा भने सूर्यले १३.३६ प्रतिशत र ज्योतीले १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा जोगाई र पौडेल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । चैत १ गते बसको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक जोगाई अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । यसअघि संस्थापक सेयरधनी समूह अन्तर्गतको अग्रिम इन्टरनेशनका प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण सेयरधनी समूहबाट अर्जुन पौडेलले प्रतिनिधित्व गरेका थिए । उनीहरुले राजिनामा दिएसँगै कम्पनी सञ्चालक समितिले दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।