शिखर इन्स्योरेन्सको कृषि तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले नेपाल बीमा प्राधिकरण र नेपालमा बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका लगायतका बारेमा जानकारी दिएका थिए । तालिममा सहभागीहरूलाई शिखर इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशीले बीमाको सिद्धान्त, किसिम साथै पशुधन र बाखा बीमा, मौसम सुचकाङ्कमा आधारीत स्याउ बीमाहरूको व्यवहारिक ज्ञान र अभ्यासहरू गराए । साथै कम्पनीको केन्द्रीय कार्यालयको कृषि तथा लघु बीमा बिभागबाट सार्थकराज पाण्डेले उत्पादनमा आधारित खाद्धान्न बीमा, तरकारी, माछा, च्याऊखेती, पन्छी , सुन्ताला लगायतका बीमालेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिएका थियो । तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया बारेमा जानकारी दिनुका साथै कृषि बीमा अभिकर्तालाइ गाउ गाउमा पुगी बीमा गर्न हौसला प्रदान गरेको थियो ।
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित
निसी । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनाबाट लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको छ । निसीखोला गाउँपालिका–१ किटेनीका वीरबहादुर विक फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे । गाउँपालिकाले फागुनबाट लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए । उनी मात्र होइन, यतिबेला निसीखोला गाउँपालिकाले फागुनबाट लागू हुने गरी बीमा गरेका एक हजार आठ सय ३८ जना सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाले बीमा गरिदिए पनि बीमा रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवा लिनबाट बञ्चित भएका हुन् । गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय घरधुरीका लागि राजस्व बाँडफाँटबाट दुई करोड रुपैयाँ विनियोजन गरेको थियो । पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो । जसमध्येबाट गाउँपालिकाले फागुनबाट लागू हुने गरी एक हजार आठ सय ३८ जनाको बीमा गरेको थियो । तर गाउँपालिकाले हालसम्म पहिलो चरणको ६४ लाख रुपैयाँ बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधा लिनबाट बञ्चित भएका हुन् । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँडबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा बीमा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरिदिएको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । सङ्घीय सरकारबाट केही दिन पहिले मात्र ५५ लाख रुपैयाँ रकम प्राप्त भएको एक हप्तामा एक करोड रुपैयाँ भुक्तानी गर्ने तयारी गरिसकेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताए । रासस
शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस डिम्याट खातामा
काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको माघ २५ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।