आईएमई लाइफले असार १ गते र २० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
मेटलाइफले बीमा शुल्क भुक्तानी संकलनको लागि सुरु गर्यो ई-म्यान्डेट सेवा
काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँगकाे सहकार्यमा बीमा शुल्क भुक्तानीका लागि सहकार्य गरेकाे छ । कम्पनीले डिजिटल स्ट्याण्डिङ इन्स्ट्रक्सन( ई-म्यान्डेट) सुविधालाई नेपाल क्लियरिङ हाउसकाे राष्ट्रिय भुक्तानी इन्टरफेससँग एकिकृत गरी आफ्नाे प्रणाली सक्षम पार्न उक्त सहकार्य गरेकाे हाे । यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमै पहिलो पटक प्रचलनमा ल्याएको जनाएकाे छ । यस व्यवस्थासँगै मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ्ग निर्देशनमा आधारित ई-म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन् । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पुरा हुनेछ । ई-म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती/आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरुले निरन्तर रुपमा यसको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ ।
एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा गर्न सकिने
काठमाडाैं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीवद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोडसम्मको बिमा हुने यस योजनामा वार्षिक ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएकाे छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुने इसेवाले जनाएकाे छ । इसेवाकाे अनुसार बीमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ र यस योजनामा सहभागि हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।