प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाईफले पायो अनुमति, बीमा क्षेत्रमै पहिलो

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले जेठ २३ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल एक करोड २० लाख कित्ता सेयर प्रतिकित्ता २३६.०१ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १३६.९१ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २३६.९१ रुपैयाँमा सेयर जारी गर्न लागेको हो । कूल कित्तामध्ये इन्स्योरेन्सले कर्मचारीलाई ६ लाख कित्ता सेयर छुट्याएको छ । कर्मचारीलाई भने कम्पनीले अंकित मूल्य अर्थात प्रतिकित्ता एक सय रुपैयाँमै एक करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । आइएमई लाईफ इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । यसैगरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ । नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीहरु मध्ये आइएमई लाईफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित यस इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक विकासमा बीमा क्षेत्रबाट अर्थपूर्ण सहभागीता जनाउनु यस कम्पनीको उद्देश्य रहेको छ ।

नेपाल पुनर्बीमाले गर्यो २९ करोड नाफा, जगेडा कोष ६ अर्ब १७ लाख रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने जीवन बीमा व्यवसायमा १७ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीले कूल २९ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो भने जीवन बीमा व्यवसायमा ४ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो वर्ष कम्पनीले २९ करोड १४ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८४ लाख रुपैयाँ गरी कूल २ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ र जीवन व्यवसायबाट ७८ करोड ४० लाख रुपैयाँ गरी कूल ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ खुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले ६ महिनाको अवधिमा निर्जीवनतर्फ १ अर्ब ९९ करोड ११ लाख रुपैयाँ र जीवन तर्फ ८२ करोड ४८ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन तर्फ १ अर्ब ९८ करोड २१ लाख रुपैयाँ र जीवन बीमा तर्फ ४९ करोड ८३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ र बीमा कोष २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोष निर्जीवनतर्फ ५ अर्ब ८९ करोड १० लाख रुपैयाँ र जीवन बीमा तर्फ २८ करोड ७६ लाख रुपैयाँ गरी ६ अर्ब १७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष निर्जीवनतर्फ ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ र जीवन बीमा तर्फ ५७ करोड ८४ लाख रुपैयाँ गरी कूल ४ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको थियो । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३३.०१ गुणा रहेको छ ।

पोखरामा नेपाल लाइफको आफ्नै भवन, थप घरजग्गा खरिद गर्दै कम्पनी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । जेठ २२ गते आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् । करिब तीन हजार दुई सय २० वर्ग फीटमा फैलिएको उक्त भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए । नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सुचाकहरुको आधारमा अब्बल रहँदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको उनले दावी गरेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशव राज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानिय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफु विश्वस्त रहेको उनले बताए । कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य विमल प्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सिमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरि सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपुर्ण रहेको बताए । आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए । नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरु समेत रहेको बताउँदै उनले । प्रादेशिक कार्यलयको स्थापनासंगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरण संगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफु ढुक्क रहेको उनले बताए ।