राष्ट्रिय बीमा कम्पनीले एकैपटक सम्पन्न गर्यो ६ वर्षको साधारण सभा, सञ्चालकमा टिवडेवाल निर्वाचित

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षकाे र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षकाे गरी ६ आर्थिक वर्षको साधारण सभा एकैपटक जेठ ३१ गते सम्पन्न गरेकाे हाे । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले साविकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको हो । साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गरेको छ । जसको पारिश्रमिक प्रतिवर्ष ५ लाख रुपैयाँ छ । त्यस्तै, सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । उनी सर्वसाधारण सेयरधनीकोतर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित भएका हुन् ।

बैशाखमा मात्रै अर्बौं बढीको पोलिसी सरेन्डर, १० कम्पनीको घट्दा ५ वटाको बढ्यो

काठमाडौं । गत बैशाख महिनामा मात्रै एक अर्ब बढीको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा गर्ने बीमितहरुले महिना दिनभित्रैमा कूल एक अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका अर्थात सरेन्डर (समर्पण) गरेका हुन् । जुन अघिल्लो एक महिनाको तुलनामा १०.८८ प्रतिशतले बढी हो । अघिल्लो महिना अर्थात चैतमा मात्रै एक अर्ब १८ करोड ३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका थिए । समीक्षा अवधिमा अधिकांशको सरेन्डरदर घटेको छ भने केहीको मात्र बढेको छ । तर पनि कूल सरेन्डर दर भने बढी छ । घट्ने भन्दा बढ्ने ह्वात्तै बढेकोले कूल सरेन्डर दर बढ्न पुगेको हो । एक महिनामा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, सुर्यज्योति लाइफ, मेटलाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सरेन्डरदर अघिल्लो महिनाको तुलनामा घटेको हो । जसमध्ये सबैभन्दा बढी सुर्यज्योति लाइफ इन्स्योरेन्सको घटेको छ । इन्स्योरेन्सको प्रतिशतका आधारमा ४२.७८ प्रतिशतले घटेको छ । त्यस्तै, मेट लाइफको ४२.६६ प्रतिशतले, सिटिजन लाइफको २९.९४ प्रतिशतले, महालक्ष्मी लाइफको २५.७२ प्रतिशतले, नेपाल लाइफको २४.२५ प्रतिशतले, हिमालयन लाइफको २१.१७ प्रतिशतले, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १३.७५ प्रतिशतले र बाँकीको सामान्य एकल अंकको प्रतिशतले सरेन्डर घटेको हो । सरेन्डरदर बढ्नेमा एशियन लाइफ, प्रभु लाइफ, नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ र सन नेपाल लाइफ रहेका छन् । यीमध्ये प्रभु लाइफको सरेन्डरदर ह्वात्तै अर्थात १४६८.७०२ प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । यता रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा देखिन्छ । नेपाल लाइफका बीमितले एक महिनामा मात्रै ३१ करोड ९८ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । त्यस्तै, एशियन लाइफका बीमितले ३१ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका गरेका छन् । सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफबाहेक बाँकी कम्पनीको एक करोडभन्दा बढीको बीमा पोलिसी समर्पण भएका छन् । हालै मर्जरमा गएका तीन कम्पनीमध्ये हिमालयन लाइफको सबैभन्दा बढी रकमको पोलिसी सरेन्डर भएका छन् । हिमालयन लाइफको १० करोड २६ लाख रुपैयाँ बराबरको पालिसी सरेन्डर भएका छन् जुन अघिल्लो महिनाको तुलनामा २१.१७ प्रतिशतले घटी हो । सुर्यज्योति लाइफ इन्स्योरेन्सको पनि ४२.७८ प्रतिशतले सरेन्डर बढेको छ । गत चैतमा १० करोड ४८ लाख रुपैयाँ बराबरको सरेन्डर भएको कम्पनीको बीमा पोलिसी बैशाखमा ६ करोडको भएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी प्रतिशत घट्नेमा सुर्यलाइफ इन्स्योरेन्स रहेको छ । यता सानिमा रिलायन्स लाइफको भने सरेन्डरदर ३९.५२ प्रतिशतले बढेको छ । बैशाखमा मात्रै कम्पनीको एक करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । एक महिनामा कुन कम्पनीको कति घटबढ भयो ?  जीवन बीमा क्षेत्रमा सरेन्डर बढ्नुको मूख्य कारण देशको आर्थिक मन्दी रहेको बीमाका जानकारहरु बताउँछन् । आर्थिक रुपमा सहज भएमात्रै बीमा गरिने भएकाले पनि त्यसमा मन्दी छाउँदा बीमा क्षेत्रमा सरेन्डरको दर बढ्ने उनीहरुको भनाई छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डर बढेको सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री बताउँछन् । ‘बीमालेख खरिद गर्दा एक मानसिकताले खरिद गर्ने र पछि उक्त मानसिकतामा परिवर्तन आउने भएपछि बीमितहरुले सरेन्डर गर्ने गरेको पाइन्छ,’ सीईओ खत्रीले बताए । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । ‘शुरुमा कतिपय मान्छेले बीमा भनेको के हो बुझेका हुँदैनन्, अभिकर्ताले जे भन्यो त्यहि पत्याइदिन्छन्, उनीहरुले बीमा भनेको जोखिम बहन गर्ने हो भन्ने हिसावले गरेका हुँदैनन्, त्यसपछि एक दुई वर्षपछि बीमा गर्ने बीमितले बल्ल बीमा के हो भन्ने बुझ्दै जान्छन्, पछिपछि बुझ्दै गएपछि उनीहरुले बीमा पहिले भनेको जस्तो होइन रहेछ भन्ने बल्ल थाहा पाउँछन्, १० लाखको पनि बीमा गर्न नसक्नेलाई करोडौंको बीमा गराइदिएको हुन्छ, जसको बीमाशुल्क तिर्न सक्दैनन्, अनि त्याग्न बाध्य हुन्छन्,’ एक बीमा जानकारले बताए । घाटा बीमितलाई नै बीमामा हुन सरेन्डरले बीमा कम्पनी घाटामा पर्दैन । घाटा बीमितलाई नै हुन्छ । किनभने बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था छ । कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गर्छ । अनि जथाभावी खर्च गरेकोमा कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । अन्ततः यसको घाटा बीमितहरुलाई नै हो । सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ ।

नेपाल बीमा प्राधिकरणको भुक्तानी अब डिजिटल माध्यमबाट हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यस सम्बन्धमा हालै मात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस सँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले झन टेवा पुर्याउने विश्वास गरिएकोछ । नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायको रुपमा रहेको नेपाल बीमा प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिदै पहल कदमी भूमिका निभाँउदै आएको छ । यस अघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाईन भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएस प्रणाली मार्फत हुने व्यवस्था गरेको थियो । आगामी दिनहरुमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने १५ बीमा कम्पनीहरुका साथै अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ९० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।