राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो बीमा
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन बीमा गरिदिएको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुँदा गर्व महशुस भएको बताए । कम्पनीले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरिसकेको छ ।
बिजनेशमा आइएमईपछि नेशनल लाइफ आक्रामक, सिटिजन र सानिमा रिलायन्सबीच प्रतिस्पर्धा
काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स बिजनेशमा आक्रामक देखिएको छ । गत बैशाखसम्मको तथ्यांकअनुसार बीमाशुल्क संकलनमा आइएमई लाइफ अन्य कम्पनीको तुलनामा आक्रामक देखिएको हो । आइएमई लाइफले एक वर्षको अवधिमा २७.२१ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ । गत आवको बैशाखमा २ अर्ब ५६ करोड ७५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको बैशाखसम्ममा ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा आईएमई लाइफपछि नेशनल लाइफ रहेको छ । समीक्षा अवधिमा नेशनल लाइफले १२.८५ प्रतिशतले आफ्नो बिजनेश वृद्धि गरेको छ । २०७९ बैशाखसम्ममा १० अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले २०८० को सोही अवधिमा १२ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, दोहोरो अंकको प्रतिशतले बिजनेश वृद्धि गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १०.६९ प्रतिशतले प्रिमियम बढाएर एक अर्ब ३१ करोड २० रुपैयाँ संकलन गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी रकमको प्रिमियम संकलन गर्नेमा भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन २०७९ बैशाखको तुलनामा ४.५७ प्रतिशतले बढी हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बिजनेसमा नेपाल लाइफलाई पछ्याइरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४.९० प्रतिशतले बिजनेश बढाएर १४ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । बिजनेश बढाउनेमध्ये सिटिजन लाइफ र हालै मर्ज भई बनेको सानिमा रिलायन्स लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ । समीक्षा अवधिमा सिटिजन लाइफले ४ अर्ब ४२ करोड र सानिमा रिलायन्सले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन गत आवको तुलनामा क्रमशः ३.३९ र ३.०६ प्रतिशतले बढी हो । साविकको सानिमा लाइफ र साविकको रिलायन्स लाइफ मर्ज भइ सानिमा रिलायन्स लाइफ बनेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार सबै कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । समीक्षा अवधिमा अधिकांश कम्पनीको व्यवसाय बढेको छ भने ५ वटा कम्पनीको भने घटेको छ । हिमालयन लाइफ, सूर्यज्योति लाइफ, मेट लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको बीमाशुल्क भने गत वर्षको तुलनामा घटेको छ । कुन कुनको बढ्यो/घट्यो ?
यस्तो बन्यो सुर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समिति
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते बसेको १५ औं वार्षिक साधारण सभाबाट संचालक पदमा नियुक्त भई सोही दिन बसेको संचालक समितिको बैठकबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् । संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट नन्द किशोर शर्मा र विवेक झा रहेका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल रहेका छन् । भट्टराईले जेठ १० गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, संचालक समितीले अध्यक्ष भट्टराई समक्ष जेठ १४ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।