प्राधिकरणले जारी गरेका निर्देशिका कार्यान्वयन गर्नु बीमा कम्पनीहरुको दायित्व हो : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । ‘प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्यांकहरूको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेको हो, यो समग्र बीमा कम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बीमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ’, उनले भने । लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोही अनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्ड बमोजिम कम्पनीहरूले काम गर्नुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिकरूपमा पहल गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरू दोहोरिन नदिन, जोखिमको प्रतिवद्धतालाई तल माथि पर्न नदिन, कूल गार्हस्थ उत्पादनमा योगदान बढ्ने गरी लगानी गर्न, बजार विश्लेषण गरेर शाखा खोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानी गर्न र साना बीमा दाबी प्रदेश कार्यालयबाट नै दिनेगरी अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । कानूनबाट प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरूलाई दिने सुविधा, कोरोना बीमाको बाँकी दाबी भुक्तानी र कृषि बीमा अनुदानका बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको जानकारी दिए । बीमा कम्पनीहरूले एउटै समस्या पटक पटक दोहोर्याएमा, अस्वस्थ प्रतिस्पर्धा जारी राखेमा र प्रचलित कानूनको उल्लंघन गरेमा कारवाहीको विकल्प नहुने उल्लेख गर्दै उनले बीमा कम्पनीहरू १० वर्षसम्ममा पनि न्यून आय भएका बर्ग एवम् सीमान्तकृत समुदायमा नपुगेकाले त्यसको जिम्मेवारी लघुबीमा कम्पनीहरूलाई दिइएको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूको स्थलगत निरीक्षणबाट देखिएका समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा, उधारो बीमा नियन्त्रण, कृषि बीमा, लगानी विविधीकरण लगायतमा केही सुधारहरू देखिए पनि अझै समस्याहरू रहेको स्थलगत निरीक्षणबाट देखिएको उल्लेख गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले निर्जीवन बीमा व्यवसाय संचालनमा देखिएका समस्याहरू सम्बन्धी प्रस्तुती गरेका थिए । यसैगरी, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवारले निर्जीवन बीमा कम्पनीका विद्यमान चुनौतीहरू सम्बन्धी प्रस्तुती गरेका थिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), नेपाल बीमक संघका पदाधिकारी, निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

छैटौं वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृहत रक्तदान कार्यक्रम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । यसका साथै छैटौं वार्षिकोत्सवका कार्यक्रमहरु समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस अघि आईएमई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेकाे छ । देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम तथा युवा दिवसको अवसर समेत पारेर वित्तिय जनचेतनाद्वारा युवा सशक्तिकरणको कार्यक्रम समेत गरेर छैटौं वार्षिकोत्सव भव्यरुपमा मनाएको बताए । रक्तदान अघि आजै बिहान साढे छ बजेदेखि काठमाण्डौ लगायत सातै प्रदेशमा जीवन बीमा बारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । देशैभरि गरेर उक्त प्रभातफेरी कार्यक्रममा १५०० जनाभन्दा बढीको सहभागीता थियो । २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको  इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

निर्जीवन बीमा कम्पनीका कर्मचारीले साढे ४९ करोड बोनस पाउने, कुनले कति ? (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरुलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरुलाई २१ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस दिएका थिए । सञ्चालनमा रहेका १४ वटा कम्पनीले सो मात्राको रकम बोनस बापत कर्मचारीहरुलाई वितरण गर्नको लागि छुट्टयाएका छन् । जुन कम्पनीहरूको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कर्मचारीहरूलाइ वितरण गरिने छ। जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी रकम छुट्टयाएको छ । इन्स्योरेन्सले कर्मचारीलाई ९ करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेको लागि प्रोभिजन गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले बढी हो । त्यस्तै, सबैभन्दा बढी बोनस छुट्टयाउनेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले आफ्ना कर्मचारीलाई ७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्न रकम छुट्टयाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.१२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको बोनस वितरण गरेको थियो । अघिल्लो आवमा ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको सगरमाथा इन्स्योरेन्सले गत वर्षमा भने आफ्ना कर्मचारीलाई ७ करोड २७ लाख ७५ हजार रुपैयाँ वितरण गर्ने भएको छ । जुन ५३.३४ प्रतिशतले बढी हो । कुनले कति छुट्टाए ? कर्मचारीहरूलाई ७ करोडभन्दा कम र ६ करोडभन्दा बढी बोनस छुट्टाउनेको सूचीमा शिखर इन्स्योरेन्ससहित ४ कम्पनी रहेका छन् । जसमा नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, ओरियण्टल र शिखर इन्स्योरेन्स रहेका छन् । यीमध्ये नेपाल इन्स्योरेन्सले ६ करोड ६३ लाख, हिमालयन एभरेष्टले ६ करोड ३६ लाख, ओरियण्टल इन्स्योरेन्सले ६ करोड ३५ लाख र शिखर इन्स्योरेन्सले ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई छुट्टाएका छन् । १४ कम्पनीमध्ये सबैभन्दा बढी बोनसदर बढाउने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १८७.५५ प्रतिशतले बोनस बढाएको छ । सिद्धार्थ प्रिमियरले ५ करोड ८२ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड २७ लाख, आईजीआई प्रुडेन्सियलले ४ करोड १४ लाख र सानिमा जीआईसीले ४ करोड रुपैयाँ बराबरको बोनस आफ्ना कर्मचारीलाई छुट्याएका छन् । हिमालयन एभरेष्टपछि सानिमा जीआईसीले कर्मचारीलाई वितरण गर्ने बोनस ९३.०७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले ३ करोड ४५ लाख, युनाइटेड अजोडले ३ करोड ६ लाख र नेशनल इन्स्योरेन्सले २ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेको छ । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सम्बन्धित कम्पनीका कर्मचारीले पाउने छन् ।