१४ बीमा कम्पनीले बुझाए २ अर्ब बढी आयकर, सबैभन्दा बढी नेको इन्स्योरेन्सको
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका १४ वटा बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १८ करोड ५९ लाख रुपैयाँ बराबरको आयकर सरकारलाई बुझाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.०६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीहरुले आफ्नो आम्दानीबापत १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए । १४ कम्पनीमध्ये सबैभन्दा बढी कर तिर्नेको सूचीमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा मात्रै सरकारलाई २६ करोड ५३ लाख रुपैयाँ बराबरको आयकर बुझाएको हो । जुन अघिल्लो वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो । नेकोले अघिल्लो वर्ष २२ करोड ३३ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, सबैभन्दा बढी कर तिर्नेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी छ । सरकारको स्वामित्वको यो कम्पनीले एक वर्षमा २२ करोड ४८ लाख रुपैयाँ आयकर स्वरुप सरकारलाई बुझाएको हो । जुन अघिल्लो वर्षको तुलनामा ५०.१० प्रतिशतले बढी हो । त्यसपछि, बढी कर तिर्नेको तेश्रो र चौथो सूचीमा नेपाल इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । यी दुईबीच कडा टक्कर देखिएको छ । नेपाल इन्स्योरेन्सले १९ करोड ६९ लाख रुपैयाँ आयकर बुझाउँदा सलिकोले १९ करोड ६७ लाख रुपैयाँ बुझाएको छ । तर प्रतिशतको आधारमा भने सलिको कर वृद्धिदर नेपाल इन्स्योरेन्सकोभन्दा बढी छ । अघिल्लो आवको तुलनामा सलिकोले २१.५५ प्रतिशतले र नेपाल इन्स्योरेन्सले १२ प्रतिशतले आयकर बढाएका छन् । त्यस्तै, रकमको आधारमा हिमालयन एभरेष्ट र ओरियण्टल इन्स्योरेन्सले पनि क्रमशः १७ करोड २४ लाख र १७ अर्ब १४ लाख रुपैयाँ आयकर तिरेको छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १९४.२७ र ३७.५९ प्रतिशतले बढी हो । १४ कम्पनीमध्ये हिमायलन एभरेष्ट इन्स्योरेन्सको आयकर वृद्धिदर सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमै १९४.२७ प्रतिशतले आयकर बढाएको छ । कुन बीमा कम्पनीले कति बुझाए आयकर ? निर्जीवन बीमा क्षेत्रको नम्बर वान कम्पनी शिखर इन्स्योरेन्सले १५ करोड ९९ लाख रुपैयाँ बराबरको आयकर तिरेको छ । यससँगै शिखर इन्स्योरेन्स बढी कर तिर्ने कम्पनीमध्येको आठौं स्थानमा रहेको छ । सिद्धार्थ प्रिमियर, एनएलजी इन्स्योरेन्स आईजीआई प्रुडेन्सियल र प्रभु इन्स्योरेन्सले १० करोडभन्दा बढी आयकर तिरेका छन् । १० करोडभन्दा कम आयकर तिर्नेमा नेशनल इन्स्योरेन्स र यूनाइटेड अजोड रहेका छन् । यी कम्पनीले गत आर्थिक वर्षमा क्रमशः ८ करोड ४७ लाख र ७ करोड ३७ लाख रुपैयाँ आयकर स्वरुप सरकारलाई बुझाएका छन् । कम्पनीहरुले आफ्नो आम्दानी अनुसार सरकारलाई कर बुझाएका हुन् । जसको जति धेरै आम्दानी त्यति नै धेरै कर तिर्नुपर्ने व्यवस्था छ । यससँगै निर्जीवन बीमा क्षेत्रमा पनि सबैभन्दा बढी कर तिरेको नेको इन्स्योरेन्सले आम्दानी पनि सबैभन्दा बढी गरेको छ ।
एशियन लाइफको अभिकर्ता सम्मान समाराेह सम्पन्न
काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न भएको छ। होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा उत्कृष्ट व्यवसायीक योगदान गरेका बागमती प्रदेश अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा देशभरबाटै दोश्रो स्थान हासिल गर्न सफल भएका वरिष्ठ एजेन्सी म्यानेजर कमल प्रसाद जोशीलाई ट्रफि सहित सम्मान गरिएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालक निष्ठा प्रधानाङ, सजल मास्के, अच्यूत राज सापकोटा र प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले जोशीलाई संयुक्तरुपमा ट्रफी हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नियामकीय प्रावधानभित्र रहेर अभिकर्तालाई सक्दो सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझै बढी योगदानले कम्पनीलाई अझै उचाईमा लैजान संभव छ । प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बीमित, अभिकर्ता र शेयरधनी सबैलाई अपेक्षित प्रतिफल दिएर कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताए । उनले सबैले अपेक्षा गरेको प्रतिफल दिलाउनकै लागी हामीले नियामकीय प्रावधानभित्रै रहेर लगानीमा विविधिकरणलाई जोड दिई रहेका छौं, आगामी दिनमा अवश्य पनि यसले नतिजा दिलाउने आशा गरेका छौं । पेशागत अभिकर्ता संघ बीमक समितिका उपाध्यक्ष सन्तलाल राईले पर्यटन, जलविद्युत र निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तारले कम्पनीको साखमा योगदान पुर्याउने भन्दै खुशी व्यक्त गरे । उनले बीमितले प्राप्त गर्ने बोनश दर आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गरे । दुई दिने कार्यक्रमको पहिलो दिन सहभागी अभिकर्ताहरुलाई वरिष्ठ अभिकर्ता तथा प्रशिक्षक मिन घलेले प्रशिक्षण दिएका थिए । करिब दुई सयको संख्यामा अभिकर्ताहरुको सहभागीता रहेकोसहभागी अभिकर्ताहरुलाई सम्मान् पत्र, ब्याज र मायाको चिन्हो सहित सम्मान गरिएको थियो । नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, काठमाण्डौं उपत्यका प्रमुख दिपक राज लेखकलगायतको उपस्थिति रहेको थियो ।
भदौ १५ गतेदेखि सिटिजन लाइफले २४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गर।ी बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ९० लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर पाएका हुन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।