१० बीमा कम्पनीले हकप्रद जारी गर्न पाउने, कसको पुँजी कति पुग्छ ?

काठमाडौं । जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै जीवन बीमातर्फको ५ र निर्जीवन बीमा तर्फको ५ गरी कूल १० वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका हुन् । यसअघि नै दुई वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको प्राधिकरणले हालै मात्र ४ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । उक्त निर्णय भदौ ६ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णयअनुसार जीवन बीमा तर्फका सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफ छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले भने यसअघि नै ८६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको थियो । यता निर्जीवन बीमा व्यवसाय गर्दै आएका हिमालयन एभरेष्ट, नेको, सानिमा जीआईसी, यूनाइटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति पाएका छन् । यीमध्ये एनएलजीले भने गत असारमै ६६ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको थियो । जीवन बीमा कम्पनीले १० देखि ८६ प्रतिशतसम्म जारी गर्न पाउने, कसले कति ? जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ हुनु पर्ने छ । सो अनुसारको पुँजी पुर्याउन अधिकांश कम्पनी मर्जरमा गए । मर्जरमा गएता पनि उनीहरुको पुँजी तोकिएबमोजिमको नभएकोले बीमा प्राधिकरणले केही कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । कम्पनीले मर्जरमा गएका र नगएका गरी ५ वटा कम्पनीलाई १० देखि ८६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । सूर्यज्योति लाइफलाई १० प्रतिशत हकप्रद बीमा प्राधिकरणको निर्णय अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने छ । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योति लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । स्वीकृति १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी बमोजिम हो । प्रभु महालक्ष्मीलाई १७ प्रतिशत प्रभु महालक्ष्मीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको छ । हालै प्रभु र महालक्ष्मी लाइफ मर्ज भइ बनेको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बढी छ । १७ प्रतिशत हकप्रदपछि उक्त पुँजी बढेर ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ नाघ्ने छ । सानिमा रिलायन्सलाई २० प्रतिशत साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । एशियन लाइफले सबैभन्दा बढी जारी गर्ने नेपालका जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशत हकप्रद जारी गर्न पाउने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा कम हो । अपुग पुँजी भने कम्पनीले बोनस सेयर मार्फत पुर्याउने योजना बनाएको छ । एलआईसी नेपाललाई ८६ प्रतिशत भारतको जोइन्ट भेञ्चर कम्पनी एलआईसी नेपालले सबैभन्दा बढी अर्थात ८६ प्रतिशत हकप्रद निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । जुन तोकिएको न्यूनतम पुँजीभन्दा कम हो । निर्जीवन बीमा कम्पनीलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सोअनुसार पुँजी पुर्याउन प्राधिकरणले केही कम्पनीहरुलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । हिमालयन एभरेष्टलाई १२ प्रतिशत नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भइ इतिहास राखेको हिमालयन एभरेष्टले १२ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । मर्जरमा जाँदा जाँदै पनि तोकिएको न्यूनतम पुँजी नपुगेको भन्दै कम्पनीले प्राधिकरणलाई सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । यससँगै हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १२ प्रतिशत हकप्रदपछि २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । नेकोलाई २५ प्रतिशत हकप्रद मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । यससँगै कम्पनीले हकप्रदबाट मात्रै तोकिएको पुँजी पुर्याउने भएको छ । सानिमा जीआईसीलाई पनि २५ प्रतिशत बीमा प्राधिकरणले मर्ज भइ बनेको सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजी हो । यूनाईटेड अजोडले ३२ प्रतिशत निष्काशन गर्न पाउने हालै दुई कम्पनी मर्ज भइ बनेका यूनाईटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । जसको हालको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । एनएलजीलाई सबैभन्दा बढी मर्जरमा नगएको एनएलजी इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने भएको छ । बीमा प्राधिकरणले कम्पनीलाई गत असारमै ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । उक्त हकप्रदलाई गत साउनमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको भन्दा कम हो । तीन कम्पनीको पुँजी नपुग्ने बीमा प्राधिकरणले हकप्रद सेयरको लागि स्वीकृति दिँदा पनि तीन कम्पनीको चुक्ता पुँजी नपुग्ने भएको छ । जीवन तर्फका दुई र निर्जीवन तर्फका एक कम्पनी गरी तीन कम्पनीले हकप्रद जारी गर्दा पनि प्राधिकरणले तोकेको न्यूनतम पुँजी नपुग्ने देखिएको हो । हालको पुँजीमा हिसाव गर्दा एशियन लाइफ, एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी तोकिएको भन्दा थोरै कम्पनी हुने भएको हो । उक्त अपुग पुँजी बोनस सेयर मार्फत पुर्याउन सक्ने देखिन्छ ।

२६ अस्पतालमा बन्द भयो स्वास्थ्य बीमा सेवा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २६ वटा अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गरिदिएको छ । बोर्डले सम्झौता नविकरण नगरेको भन्दै स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएका अस्पतालमध्ये २६ वटामा बन्द गरिदिएको हो । गत साउन ३२ गते बसेको स्वास्थ्य बीमा बोर्डको निर्णयाअनुसार बोर्डले विभिन्न निजी अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डको सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाएको हो । बोर्डले बाँकेको फत्तेवाल आँखा अस्पताल र नेपालगञ्ज मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज, दाङको राप्ती आँखा अस्पताल, झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र लाइफ लाइन अस्पताल, महोत्तरीको शुभ स्वस्तिक हस्पिटल, मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटल र नोबेल मेडिकल कलेज, पाल्पाको एलएमसीएन टिचिङ हस्पिटल र यूनाइटेड मिसन हस्पिटल, पर्साको नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, रुपन्देहीको लुम्बिनी आँखा इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टर र सिराहाको फुल कुमारी महतो मेमोरियल कलेज, सगरमाथा चौधरी आँखा अस्पताल र सप्तऋषि अस्पताललाई स्वास्थ्य बीमा सेवाको सूचीबाट हटाएको छ । त्यसैगरी, बाँकेको नेपालगञ्ज मेडिकल कलेज, धनुषाको जानकी हेल्थ केयर एण्ड टिसिङग र जानकी मेडिकल कलेज, कैलालीको घोडाघोडि हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटल, खोटाङको आई केयर सेन्टर, मक्वानपुरको मनमोहन मेरोरियल कम्युनिटी हस्पिटल र रुपेन्देही देवदाहा मेडिकल केलज एण्ड रिसर्च सेन्टर स्वास्थ्य बीमा सेवाको सूचीबाट हटेका छन् । सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । प्रतिनिधिसभाबाट असार १३ गते पास भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ । सरकारले सरकारी, सामुदायिक र सहकारीबाट संचालन भएका अस्पतालमा बीमामा कार्यक्रम संचालन गर्ने बताएपछि बोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाउन थालेको हो ।

बीमामा डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो : सीईओ बैदवार

काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवारले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । शुक्रबार डिजिटल बीमा सुभारम्भ कार्यक्रममा बोल्दै सीईओ बैदवारले यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको बताए । बीमा कम्पनी प्रधिविमैत्री नभए पछि परिने भएकाले डिजिटल भुक्तानी प्रणाली सुरु गर्नु परेको उनको भनाइ छ । ‘प्रबिधिमैत्री नभए पछि परिन्छ, हामीले डिजिटल भुक्तानी प्रणाली ल्यायौ,’ उनले भने । उनका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बीमा कम्पनीहरुमध्ये डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी हो । बीमामा डिजिटलाईजेसन अनिवार्य भैसकेको उनले बताए । ‘यसले सेमि अटोमेशन सेवा दिन्छौं, अनलाइनबाट पोलिसी जारी हुन्छ र दावी भुक्तानी पनि अनलाइनबाट नै दिन्छौं,’ उनले भने । सिद्धार्थ प्रिमियरले शुत्रबारदेखि डिजिटल माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल-डिजी प्रणालीको सुरुवात गरेको हो । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल-डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । निश्चित रकमसम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । एसपीआईएल-डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत् कम्पनीमा बीमाशुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिने सीईओ बैदवारले बताए । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्ने उनको भनाइ छ ।