प्रिमियममा सिटिजन, प्रभु महालक्ष्मी र आईएमई लाइफबीच प्रतिस्पर्धा, ६ कम्पनी भित्रिए अर्ब क्लबमा

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ वटा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमै छ । इन्स्योरेन्सले एक महिनामा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । प्रिमियम संकलनमा पहिलो स्थानमा रहेको कम्पनी जारी बीमालेखको आधारमा भने सातौं स्थानमा छ । प्रिमियम संकलनमा सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यी तीन कम्पनीले एक महिनाको अवधिमै ५२ करोडदेखि ५८ करोड रुपैयाँसम्मको प्रिमियम संकलन गरेका छन् । जसमध्ये सिटिजन लाइफले सबैभन्दा बढी अर्थात ५७ करोड ९४ लाख, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख र आईएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जारी बीमालेखमा भने यी कम्पनी क्रमशः तेश्रो, १३औं र नवौं स्थानमा छन् । कुनले कति उठाए ? सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रिमियम संकलनमा दोश्रो स्थानमा छ । इन्स्योरेन्सले साउनमा मात्रै ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालित कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एक महिनामै एक अर्ब बढी प्रिमियम उठाएको छ । जसमा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, लाइफ इ. कर्पोरेशन (नेपाल), नेशनल र सुर्यज्योति लाइफ रहेका छन् । सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा सन नेपाल रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ३५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जारी बीमालेखको अधारमा मेट लाइफ अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ५५ हजार ९७६ वटा पोलिसी जारी गरेको छ । र, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । जसले साउनमा ७ सय ३८ वटा बीमापोलिसी बिक्री गरेको छ ।

मिथिला लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । संस्थाको १९ लाख ६० हजार २७ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै संस्थाको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि लघुवित्तको संस्थापक सेयरको स्वामित्व ४० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत रहेको थियो ।

सानिमा रिलायन्सका ६ जना एजेन्सी म्यानेजर विश्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान गरेका छन् । आार्थिक वर्ष २०७९/८० मा उत्कृष्ट जीवन बीमा व्यवसाय गरेर मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा सहभागी हुने अवसर पाएर उनीहरू सिंगापुर प्रस्थान गरेको कम्पनीले बताएको छ । मिलियन डलर राउण्ड टेबल बीमाका एजेन्सी म्यानेजरहरुको विश्वव्यापी सम्मेलन हो । सम्मेलनमा भाग लिन जाने अभिकर्ताहरुमा नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेको कम्पनीले बताएको छ । कम्पनीले कार्यक्रमको आयोजना गरेर एमडीआरटीमा सहभागी हुन जाने अभिकर्ताहरुलाई विदाई गरेको थियो । एमडीआरटीमा सहभागी हुनको लागि हरेक अङ्ग्रेजी वर्षको जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने कम्पनीले बताएको छ । एमडीआरटी सञ्जालमा हालसम्म ७२ देशका पाँच सय कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्डमार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बताएको छ । त्यसैगरी, सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।