बीमालाई बैंकसँग दाँज्दा सरेन्डरदर बढ्यो, प्राधिकरणका अध्यक्ष भन्छन् : बीमितले नै पत्याएनन्

काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा सरेन्डर अर्थात बीमा पोलिसी त्याग्नेको दर बढ्दो छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्दा पछिल्लो एक महिना अर्थात साउनमा मात्रै ९ हजार ७९८ जनाले बीमा पोलिसी सरेन्डर गरेका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६.३४ प्रतिशतले बढी हो । २०७९ साउनमा ८ हजार ४२२ जनाले बीमितले जीवन बीमा पोलिसी सरेन्डर गरेका थिए । यो तथ्यांकले जीवन बीमा कम्पनीहरुले गर्ने बिजनेसमा प्रश्न उठेको छ । उनीहरुले बिजनेश ल्याउँदा गर्ने अन्डरराइटिङमा ध्यान नदिएको र उक्त अन्डरराइटिङ स्ट्याण्डर्ड नभएको बुझिने जानकारहरु बताउँछन् । पछिल्लो समय देशमा आर्थिक मन्दी छाएसँगै त्यसको नकारात्मक प्रभाव जीवन बीमा क्षेत्रमा पनि परेको तथ्यांकले देखाएको छ । त्यस्तै, बैंकको व्याजदर बढ्दा बीमा गर्नेहरुले बैंकमा पैसा डिपोजिट गर्न थाल्ने भएकाले बीमा सरेन्डर बढ्ने गरेको जानकारहरु बताउँछन् । तर बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भने मान्छेले बीमालाई बैंकसँग तुलना गर्न थाल्दा समस्या बढ्दै गएको बताउँछन् । ‘नेपालमा सबैभन्दा ठूलो समस्या मान्छेले बीमालाई बैंकसँग तुलना गर्न थाले, बीमा र बैंकमा धेरै फरक छ, बीमाले यति प्रतिशत ब्याज दिन्छु भन्ने होइन, बीमाले त बीमा अवधिभर तपाईंलाई कुनै घटना घटेमा त्यसको क्षतिपूर्ति दिन्छु भन्छ, यदि कुनै घटना घटेन भने अन्तिममा गएर बोनससहित दिन्छु भनेको हो, यो विषय बीमा कम्पनीहरुले बुझाउँनै सकेनन्,’ अध्यक्ष सिलवालले प्रष्टाउँदै भने । साथै, सरेन्डर दर बढ्नुले बीमा कम्पनीमाथि मान्छेको विश्वास घट्दै गएको बुझिने अध्यक्ष सिलवालको भनाई छ । इन्स्योरेन्सप्रति विश्वास बढाउन कम्पनीहरुले बीमा गर्ने व्यक्तिले कुन उद्देश्यले बीमा गरेको थियो र कुन उद्देश्यले सरेन्डर गर्दै छ भनेर बुझ्नु पर्ने र आजको मात्रै होइन भोलिसम्मको बजार हेर्नु पर्ने उनी बताउँछन् । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । त्यस्तै, सरेन्डर किन बढ्यो ? यसलाई कसरी रोक्ने ? भन्ने विषयमा कम्पनीहरुले आफै रणनीति बनाउन आवश्यक देखिएको प्राधिकरणका अध्यक्ष सिलवालको भनाइ छ । बीमामा हुने सरेन्डरले बीमितलाई नै घाटा हुने कम्पनीलाई घाटा नपर्ने जानकारहरु बताउँछन् । बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था रहेको र कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गरेकोले बीमितलाई घाटा हुने जानकारहरुको भनाई छ । सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ । तर बीमा प्राधिकरणका अध्यक्ष भने बीमा सरेन्डरले कम्पनीलाई पनि घाटा पर्ने बताउँछन् । ‘बीमितले बीमा गरेबापत आएको रकम एउटा क्षेत्र तथा प्रपोजमा लगानी गर्छु भनेर छुट्याएको रकम सरेन्डर मार्फत धमाधम बाहिरन थालेपछि कसलाई घाटा हुन्छ ?’ प्रश्न गर्दै उनले भने- ‘घाटा कम्पनीलाई नै हुन्छ, कम्पनीले आफ्नो प्रपोज मीट गर्न नसक्नुको कारण यो पनि हो ।’ सरेन्डरमार्फत कुन कम्पनीबाट कति रकम बाहिरियो ? २०७९ साउनको तुलनामा २०८० साउनमा सरेन्डर गर्नेको संख्या बढेको छ भने सरेन्डर रकम भने घटेको छ । २०७९ साउनमा एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । जुन २०८० साउनमा १५.१७ प्रतिशतले घटेर एक अर्ब २८ करोड ३३ लाख रुपैयाँमा झरेको छ । गत साउनमा नेपाल लाइफको सबैभन्दा बढी र प्रभु महालक्ष्मीको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल लाइफको ४७ करोड २३ लाख रुपैयाँ बाहिरँदा प्रभु महालक्ष्मीबाट ३५ लाख रुपैयाँ एक महिनामा बाहिरिएको छ । यता प्रतिशतको आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डरदर बढ्दो छ । २०७० को साउनको तुलनामा २०८० साउनमा हिमालयन लाइफको पोलिसी सरेन्डरदर २९८.५८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफको सरेन्डर रकम सबैभन्दा कम अर्थात ९.१० प्रतिशतले बढेको छ । नेशनल लाइफको भने ८३.७५ प्रतिशतले सरेन्डर रकम घटेको छ । कुन कम्पनीको कति वटा पोलिसी सरेन्डर ? संख्याको आधारमा पनि नेपाल लाइफकै सबैभन्दा बढी अर्थात ३ हजार ३२४ वटा पोलिसी सरेन्डर भएका छन् । तर २०७९ साउनको तुलनामा भने उक्त संख्या ८.२८ प्रतिशतले घटी हो । सन नेपाल लाइफको सबैभन्दा कम संख्याको पोलिसी सरेन्डर भएका छन् । दुबै वर्षमा कम्पनीको बराबर अर्थात प्रति वर्ष १३ वटा पोलिसी सरेन्डर भएका छन् । प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी पोलिसी सरेन्डर भएका छन् । अघिल्लो साउनको तुलनामा कम्पनीको पोलिसी सरेन्डर दर ३२९.०३ प्रतिशतले बढेको छ । यता नेशनल लाइफको पोलिसी सरेन्डर गर्नेको संख्या ५२.७६ प्रतिशतले घटेको छ ।

बीमा संस्थानमा राष्ट्र बैंकले लगानी थप्यो, अर्थ मन्त्रालयले सकेन

काठमाडौं । दोस्रो ठूलो सेयरधनी अर्थमन्त्रालयले थप सेयर लगानी गर्न नसक्दा राष्ट्रिय बीमा संस्थानको पुँजी वृद्धि योजना प्रभावित भएको छ । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन २०८० असार मसान्तसम्मको सीमा तोकेको थियो । अन्तिम समय गुज्रिँदा पनि अर्थ मन्त्रालयले पैसा हाल्न नसकेकोले पुँजी वृद्धि योजना अगाडि बढ्न नसकेको सरकारी अधिकारीहरुले बताएका छन् । २२ वर्षअघि स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८ अर्ब २१ करोड पुँजी पुर्याउँदा ५६ वर्षअघि स्थापना भएको नेपालको पहिलो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानसँग जम्मा १८ करोड रुपैयाँ पुँजी छ । ६ वर्षअघि मात्र सञ्चालनमा आएका नयाँ बीमा कम्पनीहरुले पनि नियामकले तोके बमोजिम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनै लागेका छन् । तर, अर्थमन्त्रालयले पैसा नथप्दा राष्ट्रिय बीमा संस्थानको पुँजी अहिलेसम्म १८ करोड रुपैयाँ मात्रै रहेको छ । पुँजी वृद्धिको लागि सञ्चालक समितिले निर्णय गरेर अर्थमन्त्रालयमा पत्राचार भएको तर स्वीकृत भएर नआएको संस्थानका अध्यक्ष ईश्वर पौडेलले बताए । संस्थानले सेयर पुँजी थप्न गरेको प्रस्ताव निर्णयार्थ पेश नभएको अर्थसचिव अर्जुन प्रसाद पोखरेलले विकासन्युजसँग बताए । लगानी गर्न आवश्यक पैसाको अभाव भएकोले अर्थमन्त्रालयमा निर्णयार्थ पेश नभएको एक अधिकारीले बताए । ‘सबैलाई थाहा छ, सरकारको राजश्व घटेको छ । नियमित भुक्तानी गर्नलाई नै सरकारमाथि धेरै दवाव छ । त्यसले पुँजी वृद्धिको प्रस्ताव प्राथमिकतामा नपरेको हुनसक्छ’ ती अधिकारीले भने । बीमा संस्थानको सबैभन्दा ठूलो सेयरधनी नेपाल राष्ट्र बैंकले भने सेयर पुँजी वृद्धिको लागि आफ्नो हिस्सा भुक्तानी गरिसकेको अध्यक्ष पौडेलले बताए । तेस्रो प्रवर्द्धक नेपाल बैंकले पनि थप लगानी गर्ने निर्णय सञ्चालक समितिबाट गरिसकेको तर भुक्तानी हुन बाँकी रहेको उनले बताए । राष्ट्रिय बीमा संस्थानमा नेपाल राष्ट्र बैंकको ५५ प्रतिशत, अर्थमन्त्रालयको २८ प्रतिशत र नेपाल बैंकको १७ प्रतिशत सेयर रहेको छ । बीमा संस्थानले पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने, सर्वसाधारणलाई ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको छ । संस्थानको नाम पनि परिवर्तन गरी राष्ट्रिय जीवन बीमा कम्पनी बनाउने प्रस्ताव गरिएको अध्यक्ष पौडेलले बताए । २०८० असोज मसान्तसम्म यी काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।

रिलायबल नेपाल लाइफले काठमाडौंसहित सातै प्रदेशमा जग्गा र भवन किन्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौंसहित सातै प्रदेशमा जग्गासहित घर पनि खरिद गर्ने भएको हो । कम्पनीका अनुसार काठमाण्डौं उपत्यकामा ज्ञानेश्वर, पुतलिसडक, नक्साल, बानेश्वर लगायत चक्रपथ भित्रका उपयुक्त व्यवसायिक स्थानमा न्यूनतम १२ आना जग्गा वा सोमा बनेको भवन खरिद गर्ने छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, गैंडाकोटमा न्यूनतम १२ आना जग्गा किन्ने कम्पनस्ले बताएको छ । यस्तै, कोशी प्रदेशको विर्तामोड, इटहरी, विराटनगर, मधेश प्रदेशको लहान, जनकपुर, बर्दिवास, बागमति प्रदेशको चितवन, लुम्बिनी प्रदेशको बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, कणाली प्रदेशको बिरेन्द्रनगर बजार र सुदुरपश्चि प्रदेशको अत्तरीया, धनगढी, महेन्द्रनगरमा न्यूनतम १÷१ कट्टा जग्गा वा सो जग्गामा भवन समेत खरिद गर्ने बताएको छ । बिक्री गरिने जग्गा ४० फिट मुल सडकसँग जोडिएको तथा मुख्य बजार क्षेत्रभन्दा ५०० मिटर भित्र, तराइको हकमा कम्तिमा २० मिट फराकिलो तथा उपत्यकाको हकमा कम्तिमा १६ फिट फराकिलो बाटो भएको हुनुपर्नेछ । उक्त स्थानहरुमा जग्गा वा जग्गामा बनेको भवन बिक्री गर्न इच्छुक धनीहरुले ३५ दिनभित्र बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।