एलआईसी नेपालले लाभांश नदिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले सेयरधनीलाई लाभांश नदिने भएको छ । भदौ २५ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् । साथै, कम्पनीले उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहका विवरणहरु स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरिसकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले इभी गाडी किन्न एक करोडसम्मको लोन दिने, व्याजदर कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबीएल इभी लोन फेस्टिभ अफर नामक विशेष योजना ल्याएको छ । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ भन्ने नारासाथ भदौ २६ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो । विभिन्न विशेषतासहितको यो योजना अन्तर्गत ग्राहकले ९.९५ प्रतिशत व्याजदरमै इभी लोन पाउने भएका छन् । जुन सबैभन्दा न्यून रहेको बैंकको भनाई छ । बैंकका अनुसार ग्राहकले उक्त व्याजदरमा बढीमा एक करोड रुपैयाँसम्म लोन लिन सक्नेछन् । त्यस्तै, प्रशोधन शुल्क ०.२५ प्रतिशत र अग्रीम भुक्तानी लागत मूल्यको २० प्रतिशत तोकिएको छ । सीमित अवधिको लागि मात्र लागू हुने यो योजनामा बैकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने समेत बैंकले जानकारी गराएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सोको खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । उक्त नीतिलाई पुरा गर्ने उद्देश्यसहित सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको दशैं तिहारको अवसर पारी यो योजना ल्याएको हो ।

नेपाल लाइफका यी चार अभिकर्ता : जसले सिंगापुरमा फहराए नेपाली झण्डा

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्यारेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी विश्व सम्मेलनमा सहभागिता जनाएका छन् । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तरराष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनको भनाई छ । कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको उनले बताए । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल सम्मेलन सिंगापुरमा सम्पन्न गरेको हो ।