नेशनल लाईफले गर्यो भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले गत असोज १६ गते आएको भूकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न भएको हो । विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले उक्त विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिए । यस्तै उनले आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृत खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
हिमालयन रिले कात्तिक २१ बाट आईपीओ निष्काशन गर्ने, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ जारी गर्ने प्रकृया शुरु गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ । उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकले आगामी मंसिर ५ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन् । यससँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रिमियममा आईपीओ जारी गर्न हिमालयन रिले पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल तीन करोड कित्ता सेयर प्रतिकित्ता २०६ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १०६ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल मार्केट रहेको छ ।