सलिकोले हेली एभरेष्टलाई भुक्तानी गर्यो पौने २९ करोड दावी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले हेली एभरेष्ट एयरलाइन्सलाई पौने २९ करोड दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत कम्पनीलाई २८ करोड ७१ लाख ५२ हजार ५५२ रुपैयाँ दावी भुक्तानी गरेको हो । इन्स्योरेन्सले शुक्रबार मात्रै उक्त कम्पनीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । हाल नेपालमा रहेका एभिएसन कम्पनीहरुमध्ये ७ वटा कम्पनीहरुको बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवचको रुपमा रहेको छ भने सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानी तर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ । कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको इन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये ४ वटा हेलिकप्टर दूर्घटना परेकोमा श्री हेलि एभरेष्ट एयरलाईन्सको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिव २९ करोड भुक्तानी गरि सकेको छ भने बांकी दूर्घटनाहरुको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तिव्रताका साथ अगाडी बढाईएको कम्पनीले जनाएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ग्राहकलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजारसम्म छुट
काठमाडौं । ट्राभल कम्पनी गुरु ट्राभल्स र बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच व्यवसायिक सहकार्य भएको छ । सो सम्बन्धी सहमतिपत्रमा सिद्धार्थ प्रिमियरका सहायक महाप्रबन्धक रामजी ढकाल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज धरेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टसहित अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट सहजरुपमा ट्राभल बीमा प्राप्त गर्ने तथा अन्य बीमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ । गुरु ट्राभल्सका ग्राहकहरुले एकै स्थानबाट ट्राभल बीमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति भएको छ । साथै, सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउन पनि दुई संस्थाबीच सहमति भएको छ । गुरु ट्राभल्स २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ । आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ । यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ। कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सहायक महाप्रबन्धक रामजी ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
जीवन बीमा पोलिसी सरेन्डरदर : सात कम्पनीको बढ्दा सातको घट्यो, कुनको कति ?
काठमाडौं । गत भदौमा ९ हजार बढीले जीवन बीमापोलिसी त्याग अर्थात समर्पण गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीका कूल ९ हजार ३८६ जना बीमितले समय अगावै बीमा पोलिसी त्याग गरेका छन् । जुन अघिल्लो वर्ष अर्थात २०७९ को भदौको तुलनामा बढी हो । २०७९ भदौमा ८ हजार ५२ जना बीमितले बीमा पोलिसी सरेन्डर गरेका थिए । बीमा पोलिसी त्याग गर्नेको संख्यासँगै रकम पनि बढेको तथ्यांकले देखाउँछ । २०७९ भदौमा एक अर्ब १४ करोड ८३ लाख रुपैयाँ समर्पण भएकोमा २०८० भदौमा भने एक अर्ब १८ करोड २० लाख रुपैयाँ रकम बीमा क्षेत्रबाट बाहिरिएको छ । जुन प्रतिशतको आधारमा २.९० प्रतिशतले बढी हो । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ७ वटा कम्पनीको बीमा पोलिसी सरेन्डरद्धर घटेको छ भने बाँकी ७ वटाको बढेको छ । प्रतिशतको आधारमा सिटिजन लाइफ इन्स्योरेन्सबाट सबैभन्दा बढी रकम बाहिरिएको छ । २०७९ भदौको तुलनामा २०८० भदौमा कम्पनीको पोलिसी सरेन्डर दर ११५.१४ प्रतिशतले बढेको छ । अर्थात गत वर्ष ७५ लाख रकमको पोलिसी सरेन्डर भएकोमा चालु आवमा एक करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । यद्दपि यो रकम अन्य कम्पनीको तुलनामा सर्वाधिक होइन । सरेन्डर मार्फत सबैभन्दा बढी रकम बाहिरिनेको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा छ । इन्स्योरेन्सबाट भदौमा मात्रै ४० करोड २९ लाख रुपैयाँ सरेन्डर मार्फत बाहिरिएको छ । जुन गत वर्षको तुलनामा भने २.९१ प्रतिशतले घटी हो । समीक्षा अवधिमा राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी सरेन्डर रकम बढेको छ । उक्त रकम घट्नेमा नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल र सूर्यज्योति लाइफ रहेका छन् । प्रतिशतको आधारमा सन नेपाल लाइफको सरेन्डर रकम सबैभन्दा बढीले घटको छ । गत वर्ष ५८ लाख बराबरको पोलिसी सरेन्डर भएकोमा यो वर्ष ४० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । जुन प्रतिशतको आधारमा ३०.२० प्रतिशतले घटी हो ।