नेपाल माइक्रो इन्स्योरेन्सका थप दुई शाखा विस्तार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले एकैपटक दुई शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बनेपा शाखा शुक्रबार उद्घाटन गरि सञ्चालनमा ल्याएको हो । यस्तै, इटहरी शाखा भने आज आइतबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । यी दुई शाखासहित थप ४ ठाउँमा शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । सानो इन्स्योरेन्स, ठूलो केयर भन्ने नाराका साथ कम्पनीले आफ्नो सेवा देशभरि पुर्याइरहेको छ ।

आइएमई लाइफद्वारा नेपाली क्रिकेट खेलाडीलाई २५ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा

काठमाडौं । नेपाल टी-२० विश्‍वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी-२० नेपाली क्रिकेट टोलीलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिमांक २५ लाख रुपैयाँ बराबरको आइएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरुप खेलाडीलाई उक्त जीवन बीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो । टी-२० विश्‍वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने कम्पनीले जनाएको गरेको छ । यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्‍वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । नेपाली क्रिकेट टोलीलाई टी-२० विश्‍वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्‍न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफ एक्लैको १० अर्ब बीमा शुल्क संकलन, एलआईसी र हिमालयनबीच दोस्रो बन्न प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क छ । यस्तै, असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफलाई नेशनल लाइफले टक्कर दिँदै ९० करोड ७२ लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेको हो । यस्तै, हिमालयन लाइफले ५२ करोड ८७ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले ४१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड १ लाख रुपैयाँ, सन नेपालले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २१ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।