नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार, कम्पनी थप उचाईमा पुग्ने

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच् र सन् २०१५ मा म्यानेजर अफ दी एयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए । साथै, उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिलको विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाई प्राप्त गर्ने कम्पनीको विश्वास छ ।

कुन दरका नयाँ नोट र सिक्का छाप्न कति लाग्छ खर्च ?

काठमाडौं । तपाईंको खल्तीमा रहेको, घरमा राखिएको वा बैंकमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ । नेपाल राष्ट्र बैंकले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ । पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र बैंकले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ । त्यसका अतिरिक्त ढुवानीका लागि पनि थप खर्च लाग्ने र यस्तो खर्च समय अनुसार फरक पर्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । पोल्यान्डको मेनिका पोलेस्काले छापिएका एक रुपैयाँ दरका सिक्का पर्साको सिर्सिया सुख्खा बन्दरगाहसम्म पुर्‍याउने गरेको छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ । सबैभन्दा बढी खर्च रु ५०० को नोट छाप्न लाग्दै आएको छ। सिक्काको मोलभन्दा महँगो छपाइ राष्ट्र बैंकका अनुसार अहिले रु १ र रु २ का नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन् । स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ । बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन् । दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का रु २.७३ लाग्ने गरेको छ । ‘यो टेन्डर लागत मात्रै हो । यसमा ढुवानी खर्च अलग हुन्छ र त्यो परिस्थिति अनुसार फरक पर्छ। कति समयपछि ल्याइन्छ त्यसमा भर पर्छ,’ राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने । महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र बैंकलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ । नोट छाप्न कति खर्च राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ । पछिल्लो पटक राष्ट्र बैंकलाई रु १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । रु १,००० को नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ । नेपालका अनुसार ५०० को नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको हो । ‘यसको पछाडि दुई वटा कारणहरू छन् । एउटा सुरक्षा विशेषता ५०० को नोटमा बढी भएर पनि हो अर्को बोलकबोल प्रतिस्पर्धा हुँदा यो नोट छाप्न सस्तो प्रस्ताव आएन,’ उनले भने । अधिकांश नोटको छपाइ चीनमा नेपालमा चलाइने सात प्रकारका नोटमध्ये पाँच प्रकारका नोट पछिल्लो समय चीनमा छापिएका छन् । राष्ट्र बैंकले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ सुरु गरेको हो । अहिले रु ५० र रु १०० बाहेक सबै दरका नोटहरू चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ । रु ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका छन् । ‘नोटहरू चाइनामा इन्डोनेशियामा वा एसियाली मुलुकहरूमा छाप्न सकियो भने यसको लागत कम पर्छ किनभने यहाँ कामदारको खर्च कम छ,’ विभाग प्रमुख नेपालले भने । ‘उनीहरूको चाप अनुसार खाली भएको समयमा कममा छाप्ने प्रस्ताव गर्छन्। युरोप, अमेरिका वा बेलायतमा पर्‍यो भने यसको लागत अलिकति बढेर जान्छ ।’ राष्ट्र बैंकले यसअघि करिब पाँच करोड थान पोलिमर नोट अस्ट्रेलियामा छपाइ गरे पनि उक्त निर्णय विवादित भएको थियो । नेपालमा किन छापिँदैन ? नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ । यसअघि सिक्का छाप्दै आएको राष्ट्र बैंकको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ । “हाम्रोमा मेसिनहरू पुराना भए । सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको हो,” मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले भने । राष्ट्र बैंकले एक समय रु २५ र रु २५० दलका नोटहरू प्रकाशित गरे पनि पछि ती दरका नोटहरूको छपाइ बन्द गरेको थियो । एक र दुई रुपैयाँ दरका नोटहरू पनि आठ वर्षअघि छापिन बन्द भएको हो । राष्ट्र बैंकले जति पनि नोट छाप्न पाउँछ ? राष्ट्र बैंकले चाहे जति नोट छाप्न भने पाउँदैन । नोट छाप्नुअघि राष्ट्र बैंकले कति नोट वा मुद्रा आवश्यक पर्छ भनेर अध्ययन गर्ने गरेको छ । अध्ययनका आधारमा राष्ट्र बैंक सञ्चालक समितिले तीन वर्षका लागि आवश्यक नोट छाप्ने अनुमति दिने गरेको छ । पछिल्लो समय तीन वर्षअघि राष्ट्र बैंकले दुई अर्ब ४१ करोड थान नोट छाप्ने अनुमति पाएको थियो । मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार सन् २०२२ को अन्त्यतिर राष्ट्र बैंकले पुनः आगामी तीन वर्षका लागि छाप्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि विश्वव्यापी बोलपत्र आह्वान गर्ने र कम्पनी छनौट गर्ने तयारी भइरहेको छ । अधिकारीहरूका अनुसार कति सिक्का वा नोट छाप्ने निर्णय मुख्यतया तीन वटा आधारमा तयार गरिन्छ । विगत दुई वर्षमा प्रयोग भएका सिक्का र नोटको मात्रा, कुल गार्हस्थ्य उत्पादन र योजना आयोगको प्रक्षेपण एवम् मूल्यवृद्धिको दर यसबाहेक राष्ट्र बैंकले आफूसँग रहेको सञ्चित र सुरक्षण पनि मूल्यांकन गर्ने गरेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल राष्ट्र बैंकसँग ११ खर्ब बराबरको धितो राख्न सक्ने क्षमता छ । त्यसमध्ये बैंकले ८०० अर्बको नोटहरू बजारमा निष्कासन गर्न सक्ने अनुमति सञ्चालक समितिबाट पाएको छ । तर राष्ट्र बैंकले त्यसमध्ये ६२५ अर्ब मात्रै नोट निष्कासन गरेको छ । नोट चलाउन धितो राष्ट्र बैंकले प्रकाशन गरेर ल्याएका नोट बजारमा चलाउनु अघि राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर नोट चलाउनुअघि बैंकले नोटको मूल्यांकन बराबरको धरौटी राख्नुपर्ने व्यवस्था छ । ‘बैंकमा धितो राखेर ऋण लिएजस्तै हामीले नोट बजारमा पठाउँदा पनि सुरक्षण गर्नुपर्ने व्यवस्था छ, त्यसमा सरकारले हामीलाई व्यवस्थापन गर्न दिएका सुनचाँदीजस्ता बस्तु पनि राख्न सकियो,’ नेपालले भने । धितो के राखिन्छ ? राष्ट्र बैंक ऐनले सुरक्षण राखेर मात्रै नोट निष्कासन गर्न सक्ने अधिकार केन्द्रीय बैंकलाई दिएको छ । यस्तो धरौटीमा सुनचाँदी विदेशी मुद्रा विदेशी धितोपत्र लगायत राख्न सकिने व्यवस्था छ। साथै सिक्का र नेपाल सरकारको ऋणपत्रलाई पनि धरौटीको रूपमा राखिन्छ । ‘बैंकले नोट निष्कासन गर्दा सुरक्षण राखेर मात्र निष्कासन गर्नेछ र यस्तो निष्कासित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ,’ राष्ट्र बैंक ऐनको दफा ५२ मा भनिएको छ । सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकार पत्र र अरू बाँकी सिक्का, नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र प्रतिज्ञा पत्र वा विनिमय पत्र राख्न सकिने कानुनी व्यवस्था छ । छापिएका नोट कसरी जाँच गरिन्छ ? राष्ट्र बैंकले छापिएका नोट वा सिक्काहरूको जाँच गरेर मात्रै बजारमा पठाउने गरेको छ। दैविक छनौट प्रक्रियाको आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्काहरूमा छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलनचल्तीमा पठाइने राष्ट्र बैंकको नोट तथा सिक्का टकमरी निर्देशिकामा उल्लेख छ । मुद्रा छापिसकेपछि बैंकका अधिकारीहरू सम्बन्धित देशको छापाखाना पुगेर आफ्नै उपस्थितिमा छपाइका लागि प्रयोग भएका प्लेटहरू नष्ट गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ । राष्ट्र बैंकका अनुसार नोटहरू दुईदेखि तीन वर्षसम्म र सिक्काहरू पाँचदेखि छ वर्षसम्म प्रयोगमा रहने गरेका छन् । पुराना भएका नोट वा सिक्कालाई राष्ट्र बैंकले सुरक्षित तरिकाले नष्ट गर्ने गरेको छ। पछिल्लो समय पुराना नोटहरू धुल्याएर ब्रिकेट बनाउने गरेको छ। बीबीसीबाट ।

दुई ठूला मर्जबाट नयाँ ट्रेण्ड सेट, बराबरी हैसियत खोज्दै नयाँ बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमाण्डू (बीओके) बराबरीको हैसिएतमा गाभिने सहमति भयो  । दुई बैंकबीच मर्जमा सेयर स्वाप रेसियो १००ः१०० नै हुनेगरी सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्ज हुँदैछ । यसमा सेयर स्वाप रेसियो १००ः९० हुने सम्झौता भएको छ । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १०० मान्दा मेगा बैंकको ९० रुपैयाँ मानेर मर्ज हुँदैछ । मर्जको सम्झौता हुनुअघि ग्लोबलको भन्दा बैंक अफ काडमाण्डूको सेयर मूल्य बजारमा १०.५७ प्रतिशत कम थियो । बजारमा ग्लोवल आईएमई बैंकको सेयर मूल्य २५१ रुपैयाँमा कारोबार हुँदै गर्दा बैंक अफ काठमाण्डूको सेयर २२७ रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, मर्ज सम्झौता हुनुपूर्व इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २६५ हुँदा मेगा बैंकको सेयर मूल्य २२६ रुपैयाँ थियो । बजार मूल्य १७ प्रतिशत कम भएको मेघाले १० प्रतिशत कम मूल्यमा इन्भेष्टमेन्टसँग मर्ज सम्झौता गर्यो । मर्जको क्रममा पछिल्लो समय बैंक अफ काठमाण्डू र मेगा बैंकले उच्चतम मूल्य पाएको विश्लेषण गरिदैछ । र, यी दुई ठूला मर्जले बैकिङ क्षेत्रको मर्जमा नयाँ ट्रेन सेट गरिदिएको छ । ३६ वर्ष पुरानो इन्भेष्टभेन्ट बैंक र १२ वर्ष पुरानो मेगा बैंक झण्डै हाराहारीमा मर्ज हुँदा र निजी क्षेत्रको सबैभन्दा ठूलो ग्लोवल आइएमई बैंक र पछिल्लो समय छायामा रहेको बैंक अफ काठमाण्डूबीच बराबरी हैसियतमा मर्ज हुने भएपछि बजारमा मर्जको लागि तयार भएर बसेको नयाँ बैंकहरुको बार्गेनिङ पावर बढेको छ । स्रोतका अनुसार सबैभन्दा कान्छो सिभिल बैंकले हिमालयन बैंकसँग मर्जको लागि छलफल गरिरहेको छ । उसले स्वाप रेसियो हिमालयनको १०० हुँदा सिभिलको ९० हुनुपर्ने दावी गर्दै आएको छ । हिमालयन र इन्भेष्टमेन्ट मर्जको प्रक्रियामा जाँदा १ः१ स्वाप रेसियो सम्झौता भएको, अहिले इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ दिन तयार भएको उदाहरण दिँदै आफूहरुको दावी ९० रुपैयाँ भएको सिभिल बैंकका एक सञ्चालकले बताए । त्यसमा नाम, सञ्चालक समिति, सीईओ सबै छोड्न सकिने सिभिलले संकेत दिएको छ । हिमालयनसँग कुरा नमिल्दाको विकल्पमा लक्ष्मी बैंकसँग मर्जबारे कुरा चलाएको सिभिलको दावी छ । जहाँ नाम, सञ्चालक समिति, उच्च व्यवस्थापनमा बराबरी हिस्सा माग गर्दै स्वाप रेसियो पनि बराबरीको माग गरेको छ । सिभिलले जस्तै सेन्चुरीले पनि बराबरीको हैसियत माग गरेकाे छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकको त झनै मूल्यवृद्धि भएको छ । एक वर्षअघि नविल बैंकले एनसीसीलाई ३५ रुपैयाँ भन्दा बढी दिन तयार भएन । एनसीसीका प्रवद्र्धकले ४० रुपैयाँ मागेका थिए । ३८ रुपैयाँसम्म मिल्नु पर्ने मध्यमार्गी प्रस्ताव पनि आएको थियो । तर, त्यतिबेला भाँडियो । एनबी बैंक प्राप्ति प्रक्रियासँगै नबिल बैंकले फेरी एनसीसी बैंकसँग छलफल अगाडि बढाएको छ । नबिलले ४० दिन तयार हुँदा एनसीसी बैंकका प्रवद्र्धक त्यसमा मन्जुर भएका छैनन् । त्यसको आधार पनि मेगा र इन्भेष्टमेन्ट, ग्लोबल र बिओकीबीचको स्वाप रेसियो हो । साथै, एकै वर्गको लाइसेन्स, समान व्याजदरमा प्रतिस्पर्धा गर्नु पर्ने र सर्बसाधारणले पनि सबै बैंकलाई समान रुपमा हेर्न थालेकाले पूराना र ठूला बैंकहरुको वार्गेनिङ पावर गुम्दै गएको विश्लेषण गरिएको छ । अब हुने मर्जमा स्वाप रेसियो नबिल र एनबी बैंकमा जस्तो ठूलो अन्तर हुनै नसक्ने जानकारहरु बताउँछन् ।