गरिमा बैंकले दियो ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री
काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बिहीबार ट्राफिक प्रहरी बृत जनसेवा न्यूरोडलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको हो । बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न ट्राफिक जनचेतनामूलक सामग्री उपयोगी हुने बैैंकले विश्वास लिएको छ । बैंकले हाल १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३% ब्याजमा दियो ३ अर्ब ऋण, सरकार जमानी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकले अहिले बजारमा चलेको भन्दा धेरै कम ब्याजदरमा आयल निगमलाई कर्जा लगानी गरेकाे हाे । निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएर टेकुको २९ रोपनी जग्गा धितोमा राखेको हो । भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएपछि बैंकहरुबाट ऋण लिन बाध्य भएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार ३ प्रतिशत ब्याजमा ३ अर्ब रुपैयाँ ऋण दिने विषय सहमति भइसकेको छ । ‘मंगलबार अर्थमन्त्रालयमा ३ प्रतिशत ब्याजमा ऋण दिने विषयमा सहमति भइसकेको छ, बुधबार नै पैसा निकासा गर्ने निर्णय पनि भइसकेको छ, बैंकले नमाने पनि मन्त्रालयबँट दबाब दिएपछि बैंक ३ प्रतिशत ब्याजमा कर्जा दिन तयार भएको हो,’ स्रोतले भन्यो । ऋणमा सरकार जमानी बसेको छ । भोलि निगमले ऋण तिर्न नसकेमा सरकारले सो विषयकाे जवाफदेही बन्नु पर्ने हुन्छ । उसो त राष्ट्रिय वाणिज्य पनि पूर्ण सरकारी स्वामित्वको बैंक हो । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिवेश प्रसाद लोहनीले सरकारले निर्णय गरेपछि सोही अनुसार कर्जा र ब्याज पनि दिनु पर्ने बताए । तर, ३ प्रतिशत ब्याजको विषयमा भने आफुलाई जानकारी नभएको उनको भनाइ छ । ‘कति कर्जामा कति प्रतिशत ब्याज दिने भन्ने विषय कर्जा समितिले नै निर्णय गर्छ, यस विषयमा मलाई अहिलेसम्म जानकारी छैन,’ डीसीईओ लोहनीले भने । अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले निगमको ५ अर्ब रुपैयाँ पनि फिर्ता गरेको छ । यसअघि निगम नाफामा रहेको समयमा सरकारले निगमबाट ५ अर्ब रुपैयाँ लिएको थियो । अहिले निगमले सो रकम फिर्ता मागेपछि अर्थ मन्त्रालयले पनि फिर्ता गरेको हो ।
गोर्खाज फाइनान्सको चार नयाँ योजना, बचत गरेको रकम ९ वर्षमा तेब्बर
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चार वटा आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दिर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै निशुल्क मोबाइल बैकिङ्ग, निशुल्क एटिएम, निशुल्क डिम्याट लगायतका सुविधा पाइने छ । यस्तै, फाइनान्सले एकको दुई र एकको तीन आकर्षक मुद्दती निक्षेप योजना समेत सार्वजनिक गरेको छ । वित्तीय संस्थामा बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए । उनले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको बताए । फाइनान्सको हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको छ ।