असार २७ गतेदेखि एकीकृत कारोबार गर्दै नबिल र एनबी बैंक
काठमाडौं । नबिल र नेपाल बङ्गलादेश (एनबी) बैंकको आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । एनबीलाई गाभेपछि बनेको नबिल बैंकले सो दिनदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको हो । उक्त निर्णय असार १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुबै बैंकले असार मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य लिएका थिए । एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक गाभिएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । र, नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ । हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ । हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।
ग्लोबल आइएमइ बैंकसँग सम्झौता गरी मधेस प्रदेशले पुन: सुरु गर्यो ‘छोरी शिक्षा बीमा’
जनकपुरधाम । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल आइएमइ बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् । गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि तीन लाख दिने गरी प्रतिबीमा ३७ हजार ४५७ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गरेका थिए । रासस
एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । उक्त काउन्टरको उद्घाटन ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक र्मला श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा स्थानीय व्यवसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बैंकका बाग्मती प्रदेशका प्रादेशिक-प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो । बैंकले हाल ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।