नेपाल एसबीआई बैंक ३० औं वर्षमा

काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३० औं वर्षमा प्रवेश गरेको छ । बैंकले बिहीबार कर्मचारीसँग २९ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले र्बैकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले र डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरेका थिए । बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडाैं । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ । यस छुटको सुविधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले जनाएका छन् । सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव ९२ अर्व निक्षेप परिचालन गरी ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

हिमालयन-सिभिल मर्जर : स्वाप रेसियोमा कुरा मिल्दा अध्यक्ष श्रेष्ठ, सीईओ राणा, कर्मचारीको हैसियत बराबर

काठमाडौं । हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा छन् । नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने बताएपछि दुवै बैंक गाभ्ने तथा गाभिनका लागि हतार गर्दै सम्झौता गर्ने अन्तिम चरणमा छन् । मर्जर सम्झौतालाई अन्तिम रूप दिनका लागि आज दुवै बैंकको बोर्ड बैठक छ । स्रोतका अनुसार अहिले हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ भने हिमालयन बोर्ड बैठक लगत्तै सिभिल बैंकको बैठक बस्नेछ । दुवै बैंकको बोर्ड बैठक आजै सम्भव भएमा भोलि (शुक्रबार) नै मर्जरको सम्झौता गर्ने तयारी भइरहेको बैंक स्रोतका भनाइ छ । ‘अहिले हिमालयन बैंकको बोर्डको बैठक बसिरहेको छ, उनीहरूले के निर्णय गर्छन्, सोही आधारमा सिभिल बैंकले पनि निर्णय गर्छ, अहिले सम्म सबै विषयमा कुरा मिलेको छ, सकेसम्म भोलि नै मर्जर सम्झौता गर्ने कुरा भइरहेको छ,’ सिभिल बैंक स्रोतले भन्यो । स्रोतका अनुसार दुई बैंकबीच अहिलेसम्म १००ः८१ स्वाप रेसियोमा कुरा मिलेको छ । यसको मतलब सिभिल बैंकमा १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा गाभिएपछि ८१ कित्ता सेयर पाउनेछन् । हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिलको ९ अर्ब ७ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी साढे २१ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने स्रोतको भनाइ छ । यस्तै, बैंकको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणा बन्नेछन् । नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल बन्नेछन् । यस्तै, कर्मचारीको पद तथा हैसियत भने बराबर हुने बुझिएको छ । स्रोतका अनुसार सिभिललाई ८१ रूपैयाँको स्वाप रेसियो दिएपछि सञ्चालकमा पनि दाबी नगर्ने अडान बताउँदै आएको छ ।