राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने जनाएको छ । बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ । यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ । १ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । उक्त ट्रेजरी २०८० असोज २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

नारायणी डेभलपमेन्ट बैंकको २२ हजार ८१४ कित्ता सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने जनाएको हो । बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन नआए नियमअनुसार अन्य सर्वसाधारण लगानीकर्ताका लागि लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

फेरि बढ्यो अमेरिकी डलरको भाउ, हालसम्मकै कमजोर बन्यो नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।