पशुपति क्षेत्रका बिरुवा संरक्षण गर्न सिभिल बैंकले दियो २०० वटा ट्री-गार्ड
काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री-गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई उक्त ट्री-गार्डहरु हस्तान्तरण गरेका हुन् । बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री-गार्डहरुको मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ । सिभिल बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री-गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ । उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पुर्याउन पाउँदा आफुलाई खुशी लागेको कुरा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले वताएका छन् ।
सिटिजन्स बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
last day sign flat concept काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते, बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।
कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, बेसरेट ११ प्रतिशतसम्म पुग्ने
काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने भएका छन् । बैंकहरुले आधार दर बढाएर कर्जाको पनि ब्याजदर बढाउने तयारी गरेका हुन् । नेपाल बैंकर्स संघ स्रोतका अनुसार आधार दर ०.५ प्रतिशतले बढाएर कर्जाको ब्याजदर पनि बढाउन लागिएको हो । तर, बैंकर्स संघको आधिकारिक निर्णय भने भएको छैन । आज बस्ने संघको बैठकले सो निर्णय गर्ने स्रोतको भनाइ छ । कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर यथावत राखेर कर्जाको ब्याजदर बढाउने तयारी रहेको एक बैंकर्सले बताए । ‘अहिले बैंकहरुको औसत आधार दर ९.५६ प्रतिशत छ, कात्तिकमा ०.५ प्रतिशत बढाउने तयारी छ, त्यसपछि कर्जाको ब्याजदर बढ्छ, निक्षेपको यथावत रहन्छ,’ स्रोतले विकासन्युजसँग भन्यो । बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाउन लागेका हुन् । बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकहरुको बेसरेट बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ । विगत ७ महिनादेखि निक्षेपको ब्याजदर र राखेका बैंकहरुले गत असोजमा बढाएर १२.१३ प्रतिशत माथि पुर्याएका थिए । अहिले बैंकहरुले रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । असोज महिनामा बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । अहिले पनि अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । अब बैंकहरुको आधार दर ११ प्रतिशतसम्म पुग्ने निश्चित छ । हाल बैंकहरुमध्ये सिटिजन्स बैंकको आधारदर सबैभन्दा बढी रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधादर सबैभन्दा कम रहेको छ । सिटिजन्स बैंकबाट ऋणीले कर्जा लिँदा सबैभन्दा महँगो लागत लाग्ने गरेको देखिन्छ भने राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा सस्तो पर्ने देखिन्छ ।सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको अधार दर ७.८६ प्रतिशत छ । अहिले पनि उद्योगी व्यवसायीहरु कर्जाको बयाजदर बढी भएको भन्दै बैंकहरुप्रति असन्तुष्ट बनेका छन् । बैंकहरुको गुनासोकै कारण अर्थमन्त्रालयले ब्याजदर सम्बन्धि अध्ययन गर्नका लागि एक समिति गठन गरेको थियो । तर, सो समितिले पनि प्रतिस्पर्धाका आधारमा ब्याजदर निर्धारण गर्नु पर्ने सुझाव दिइसकेको छ । कति पुग्ला आधार दर ? वाणिज्य बैंकहरुको आधार दर ०.५ प्रतिशत बढाउँदा औसत १०.०६ प्रतिशत हुने देखिन्छ । केही बैंकहरुको आधारदर ११ प्रतिशतको हाराहारी हुने देखिन्छ भने अधिकांश बैंकहरुको आधारदर डबल डिजिटमा हुने देखिन्छ । सबैभन्दा बढी आधार दर सिटिजन्स बैंकको हुने देखिएको छ भने सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको हुनेछ । यही आधारमा वाणिज्य बैंकको ऋणको ब्याजदर पनि बढ्ने छ ।