लाभाशं पारित गर्ने पहिलो बैंक बन्यो सिटिजन्स
काठमाडाैं । सिटिजन्स बैंककाे ९ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेकाे हाे । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० कराेड ९७ हजार ४ हजार ६ रुपैयाँकाे ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ कराेड ८० लाख ८७ हजार ६६१ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हाे । यससँगै सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ । यस्तै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेकाे छ । साथै, सभाले साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ (संथापक सेयरधनिहरुले धारण गरेको जम्मा सेयर साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
दोलखाकाे मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । मेगा बैंक नेपालले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरे । जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले मेगा बैंकको एक्सटेन्सन कार्यालय विस्तार भएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न मद्दत मिल्ने बताए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय, दोलखाका प्रमुख मुरारी निरौला र मेगा बैंक चरिकोटका प्रबन्धक कपिलप्रसाद भण्डारीको पनि उपस्थिति थियो । एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । मेगा बैंकले हाल देशभर २०८ वटा शाखा र २७ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।
सिद्धार्थ बैंकको कार्डबाट भुक्तानी गर्दा ४०० रुपैयाँ क्यासब्याक पाइने
काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० वा सोभन्दा बढि रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने जनाएकाे छ । बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।