एनआईसी एशिया बैंकले ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै
काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो । बैंकले कर्जामा राखिएको धितो (सवारी) बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको हो । उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । लिलाम प्रक्रियाबाट धितोमा रहेको सवारी साधन बिक्री नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सो को नियमावली, २०५९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने बैंकले जनाएको छ । साथै ऋणी र जमानकर्ता सबैलाई कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गरिने बताएको छ । साथै उक्त सवारी साधन बैंकको नाममा दर्ता रहेको र सो सवारी साधनको स्वामित्व बैंकमा रहेकोले कसैले अनधिकृत रुपमा प्रयोग गरेका छन् भने यथासिघ्र बैंकमा बुझाउन बैंकले आग्रह गरेको छ । अन्यथा अनधिकृत रुपमा बैंकको सवारी साधन प्रयोग गरेको भेटिएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने बैंकले चेतावनी दिएको छ । बैंकले काठमाडौं महानगरपालिका १४ स्थित रहेको अर्याल फेन्सी स्टोरका सञ्चालक ऋषि प्रसाद अर्यालले धितोमा राखेको डट्सुन रेडी गो मोडलको बा २० च ७५८ नम्बरको सवारी र अर्याल फेन्सी स्टोरको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती उपर हाइपोथिकेशन बिक्री गर्नेछ । यस्तै, ऋणी मुगुमान तामाङले लिएको कर्जाको धितो हुण्डाई इओएन डीलाइटको बा २ ज ३१६५ नम्बरको सवारी सधान र वेलफेयर फर्माका प्रोप्राईटर तथा जमानीकर्ता टिकेन्द्र ओझाको हुण्डाइ क्रेटा १.६ मोडलको बा १४ च ७३७६ नम्बरको सवारी र वेलफेयर फर्माको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती हाइपोथिकेशन बिक्रीमा राखेको हो ।
मर्जर र लाभांश प्रस्ताव पारित गर्न प्रभु बैंकले डाक्यो साधारण सभा, सेञ्चुरीलाई १:१ अनुपातमा गाभ्ने
काठमाडौं । मर्जर तथा लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते २१ औंँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । सभाले बैंकको अधिकृत पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँबाट वृद्धि गरी २४ अर्ब रुपैयाँ पुर्याइने, बोनस सेयर वितरणकाश्चात् जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । यस्तै, सञ्चालकहरुको भत्ता तथा सुविधा वृद्धि गर्न नियमावलीमा संसोधन गर्ने, प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्नेछ । प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य, संस्थाहरुको व्यवसायिक अवसर तथा भविष्यको बजार विस्तारको सम्भावना समेतका विषयहरुको आधारमा सेञ्चुरी बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्नेगरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ । सेञ्चुरी बैंकलाई प्राप्तिपश्चात् बैंकको पूँजी संरचनामा परिवर्तन हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्रका विभिन्न दफामा आवश्यक संशोधन, हरेफेर गर्ने, प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै संशोधन एवं परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
बीवाइडीको विद्युतीय कार किन्नेलाई नबिल बैंकले सजिलै कर्जा दिने
काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले उक्त सम्झौता गरेको जनाएको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउने छन् । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । सम्झौता अनुसार बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । यस्तै, बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्ने छ । साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ ।