२४ बैंकको खुद तरल सम्पत्ति घट्यो, लाभांशमा प्रभाव पर्ने

काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको खुद तरल सम्पत्ति (एनएलए) न्यून बिन्दुमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत एनएलए २३.५३ प्रतिशत छ । गत असारमा बैंकहरुको औसत एनएलए २५.३८ प्रतिशत थियो । तीन महिनामा वाणिज्य बैंकहरुको खुद तरल सम्पत्ति १.८५ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको भएपनि अहिले अधिकांश बैंकहरूको एनएलए सीमाको हाराहारीमै छ । अहिले बैंकहरू तरलताको समस्या भोगिरहेका छन् । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तीमा २० प्रतिशत एनएलए राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । गत असारको तुलनामा एनआइसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए बढेको छ भने अन्य २४ वटा वाणिज्य बैंकको एनएलए घटेको छ । गत असारमा २०.३० प्रतिशत रहेको एनआइसी एशिया बैंकको खुद तरल सम्पत्ति असोजमा बढेर २१.८५ प्रतिशत कायम भएको हो । यस्तै, गत असारमा २८.२४ प्रतिशत रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए असोजमा भने ३७.९८ प्रतिशत पुगेको हो । हाल सबैभन्दा कम एनएलए नेपाल बैंकको छ । यस बैंकको एनएलए २०.०६ प्रतिशत छ । ६ वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति २१ प्रतिशत, ९ वटाको २२ प्रतिशत, दुइटाको २३ प्रतिशत, तीन बैंकको २४ प्रतिशत, दुइटाको २५ प्रतिशत र दुइटाको २६ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति छ ।

माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले गरे शपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकको मङ्सिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्तरराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसकेका भएका डा.महतो ‘गैर आवासीय नेपाली संघ’का संस्थापक अध्यक्ष समेत छन् ।

यी ४ बैंकमा गाउँपालिका महासंघको डेढ करोड बचत, कुन बैंकमा कति ?

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग डेढ करोड रुपैयाँ बचत रहेको बुझिएको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंसंघसँग १ करोड ४९ लाख ३९ हजार रुपैयाँ बचत रहेको बताएकी हुन् । महासंघले महाधिवेशनको अवसरमा बैंकहरुमा भएको निक्षेप सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार बैंकसँग चार बैंकको विभिन्न शाखाहरुमा निक्षेपका रुपमा रकम छ । महासंघको नेपाल बैंकको विभिन्न शाखामा ३९ लाख ९३ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको विभिन्न शाखामा ३४ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकमा ७२ लाख ६७ हजार र एभरेष्ट बैंकमा १४ हजार रुपैयाँ बचत रहेको महासंघले जनाएको छ ।